कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, तराईमा ‘तातो दिन’ को जोखिम: तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, २५ जेठ ।

नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न भागमा मौसममा फेरबदल भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा बादल लागिरहेको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज सोमबार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ । यी क्षेत्रका थोरै स्थानहरूमा र मधेश, बागमती, गण्डकीका तराई तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने गर्मी बढ्ने र ‘तातो दिन’ हुने महाशाखाले जनाएको छ । रातिको समयमा पनि कोशी र गण्डकीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना कायमै रहनेछ ।

भोलि २६ गते मङ्गलबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि एक-दुई स्थानमा वर्षा र हिमपात हुन सक्नेछ । तराईका जिल्लाहरूमा भने गर्मीको लहर यथावत रहने देखिएको छ । विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

जेठ २७ गते बुधबार भने वर्षाको प्रभाव अझ बढ्ने देखिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । बुधबार राति देशका अधिकांश हिमाली र पहाडी भू-भागमा बादल लाग्ने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रका धेरै स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ । यद्यपि, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा बुधबार पनि गर्मीको प्रभाव रहने हुनाले तातो हावा र चट्याङ्गबाट जोगिन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?