आगामी तीन दिन देशभर बदली र वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा गर्मी बढ्ने

काठमाडौँ, २७ जेठ ।हाल नेपालको मौसममा पश्चिमी न्युन चापीय रेखा  र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बदली र वर्षाको क्रम जारी रहने देखिएको छ। हाल कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली छ। यतिबेला लुम्बिनी, कोशी र मधेश प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज जेठ २७ गते बुधबार दिउँसो कोशी प्रदेश लगायत पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यद्यपि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने केही दिन तातो हावा चल्ने र ‘तातो दिन’ हुने सम्भावना छ। आज राति पनि देशभर साधारणतया बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको छ।

भोलि २८ गते बिहीबार पनि मौसममा खासै सुधार हुने देखिएको छैन। महाशाखाका अनुसार बिहीबार देशभर साधारणतया बदली रही हिमाली र पहाडी भू-भागका धेरै स्थानमा वर्षा र हिमपात हुनेछ। मधेश, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ। भोलि राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

यसैगरी, जेठ २९ गते शुक्रबार कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भेगमा बादल लाग्नेछ। दिउँसो कोशी र मधेश प्रदेशका थोरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति पनि कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बदली रहने र विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ। वर्षा र चट्याङ्गको सम्भावना रहेकाले सतर्कता अपनाउन र तराईमा बढ्दो गर्मीबाट बच्न मौसमविद्हरूले आग्रह गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?