दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर, २३ भदौः बाँदरका कारण अन्य बाली जोगाउन समस्या भइरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’ खेती आम्दानीको भरपर्दो वैकल्पिक स्रोत बन्न थालेको छ। स्वादिलो र पोषणयुक्त मानिने दूधे पिँडालुको स्थानीय बजारमा माग तथा मूल्य बढ्दै गएपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्।

तरकारी तथा खाजाका रूपमा प्रयोग हुने पिँडालुको माग स्थानीय बजारमा बढ्दो छ। भोजपुर सदरमुकामलगायत आसपासका स्थानीय हाटबजारमा हाल दूधे पिँडालु प्रतिकेजी रु ५० देखि ८० सम्ममा बिक्री भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाले बताउनुभयो।

बाँदरले क्षति नगर्ने र अन्य बालीको तुलनामा कम मेहनत तथा लगानीमा राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय किसान पिँडालु खेतीतर्फ आकर्षित भएको उहाँको भनाइ छ। “राम्रोसँग फस्टाएको एउटै बोटबाट एकदेखि तीन केजीसम्म पिँडालु उत्पादन हुन्छ,” उहाँले भन्नुभयो, “थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिन्छ। अचेल गाउँमा धेरैजसोले पिँडालुलाई मुख्य वैकल्पिक बालीका रूपमा लगाउन थालेका छन्।”

जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा बाँदरको आतङ्कका कारण मकै, धान, कोदो तथा अन्य बाली जोगाउन किसानले समस्या भोग्दै आएका छन्। जमिनमुनि फल्ने बाली भएकाले बाँदरबाट दूधे पिँडालुमा क्षति कम हुने गरेको किसानको अनुभव छ। बाँदर तथा अन्य जङ्गली जनावरबाट समेत तुलनात्मक रूपमा जोगाउन सकिने भएपछि बाँझो रहेका खेतबारीमा समेत किसानले पिँडालु रोप्न थालेका स्थानीय किसान गीता विष्टले बताउनुभयो।

पिँडालुबाट उत्पादन हुने पात र डाँठसमेत किसानका लागि उपयोगी हुने गरेको छ। यसको पात र डाँठ बङ्गुरको चाराका रूपमा प्रयोग हुने भएकाले बङ्गुरपालन गर्ने किसानले पिँडालुको बोट खरिद गरेर लैजाने गरेको विष्टले जानकारी दिनुभयो।

स्थानीय बजारमा दूधे पिँडालुलाई उपभोक्ताले स्वादिलो तथा पोषणयुक्त खाजाका रूपमा रुचाउने गरेका छन्। बजारसम्म पु¥याएपछि सहजै बिक्री हुने भएकाले किसानलाई बजारीकरणमा समेत ठूलो समस्या नरहेको विष्टको भनाइ छ।

बाँदरको समस्या नियन्त्रण गर्न नसक्दा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यतामा रहेका किसानका लागि दूधे पिँडालु खेती वैकल्पिक बालीका रूपमा स्थापित हुँदै गएको छ। कम खर्चमा राम्रो आम्दानी लिन सकिने भएपछि भोजपुर नगरपालिका–५ बोखिमलगायत जिल्लाका अन्य ग्रामीण क्षेत्रमा समेत यसको व्यावसायिक खेती विस्तार हुने क्रम बढ्दै गएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?