वर्षौँदेखि एउटै बाली लगाउँदै आउनुभएको छ भने यो कुरा अवश्य जान्नुस् : बाली चक्रले कसरी रोग–किरा घटाउन र माटो जोगाउन मद्दत गर्छ?

 

एउटै खेतमा वर्षैपिच्छे एउटै बाली लगाउनु भनेको रोग र किरालाई बारम्बार त्यही बालीको खाना र बासस्थान उपलब्ध गराउनु जस्तै हो। खेतीमा यसलाई ‘एकल खेती’ अर्थात् Monoculture भनिन्छ। सुरुका वर्षमा उत्पादन राम्रै भए पनि लामो समयसम्म एउटै बाली दोहोर्‍याउँदा केही रोग, किरा र झारपातको समस्या बढ्न सक्छ। विशेषगरी माटोमा बस्ने केही रोगका जीवाणु बालीका जरा, पुराना ठुटा र बालीका अवशेषमा बाँचिरहन सक्छन्। अर्को वर्ष फेरि त्यही बाली लगाउँदा उनीहरूले सजिलै नयाँ बोटमा संक्रमण गर्न पाउँछन्। यसरी एउटै बाली लगातार लगाउँदा केही रोग र किराको प्रकोप वर्षैपिच्छे बढ्ने सम्भावना हुन्छ।

लगातार एउटै बाली लगाउँदा माटोको पोषक तत्वको सन्तुलनमा पनि असर पर्न सक्छ। हरेक बालीले माटोबाट फरक–फरक मात्रामा नाइट्रोजन, फस्फोरस, पोटासियमलगायत पोषक तत्व लिन्छ। एउटै बाली निरन्तर लगाउँदा त्यसले बढी प्रयोग गर्ने पोषक तत्वको कमी हुन सक्छ। साथै, बालीका अवशेष माटोमा नफर्काउने, जैविक मल नहाल्ने र माटोको उचित व्यवस्थापन नगर्ने हो भने माटोको जैविक पदार्थ र उर्वराशक्ति पनि घट्न सक्छ। माटो कमजोर हुँदै जाँदा बोटबिरुवाको राम्रो वृद्धि र रोगसँग सामना गर्ने क्षमता पनि प्रभावित हुन सक्छ।

यस समस्याबाट जोगिन सबैभन्दा उपयोगी उपायमध्ये एक हो—‘बाली चक्र’ अर्थात् Crop Rotation। एउटै खेतमा लगातार एउटै बाली नलगाई बाली परिवर्तन गर्दै जानुपर्छ। उदाहरणका लागि, धान वा मकैपछि सिमी, भटमास, बोडी, केराउजस्ता कोसेबाली लगाउन सकिन्छ। कोसेबालीका जरामा रहने विशेष ब्याक्टेरियाले हावामा रहेको नाइट्रोजनलाई बिरुवाले प्रयोग गर्न सक्ने रूपमा बाँध्न मद्दत गर्छन्। कोसेबालीका जरा र अवशेष माटोमा फर्किएमा त्यसबाट माटोको उर्वराशक्ति सुधार्न पनि सहयोग पुग्छ। साथै, अघिल्लो बालीमा समस्या गरिरहेका केही रोग र किराको जीवनचक्र पनि बाली परिवर्तन गर्दा कमजोर हुन सक्छ।

तर बाली चक्र मात्रैले सबै रोग र किरा नियन्त्रण हुन्छन् भन्ने होइन। राम्रो उत्पादनका लागि बाली चक्रसँगै गोबर वा कम्पोष्ट मलको उचित प्रयोग, स्वस्थ बीउ तथा बिरुवा छनोट, खेत तथा बालीका अवशेषको सफाइ, उचित सिंचाइ र मल व्यवस्थापन, झारपात नियन्त्रण तथा आवश्यकताअनुसार अन्य जैविक वा एकीकृत कीरा व्यवस्थापनका उपाय पनि अपनाउनुपर्छ। यसरी एउटै बालीमा निर्भर नभई खेतमा विभिन्न बालीको उचित चक्र अपनाउँदा माटोको स्वास्थ्य जोगाउन, रोग–किराको दबाब घटाउन र लामो समयसम्म राम्रो उत्पादन लिन मद्दत पुग्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?