तरकारीको बजार खोज्दै हिँड्नुपर्ने किसानदेखि महँगोमा किन्नुपर्ने उपभोक्तासम्मलाई राहत, कृषि उपज केन्द्रले बदल्दैछ बजारको शैली
घोराही (दाङ), १८ असोजः घोराही उपमहानगरपालिका–१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न बिहानै घोराही–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुग्नुहुन्छ ।
कृषि उपज बिक्री केन्द्रमा ताजा सागसब्जी सस्तोमा पाइने भएकाले दैनिक त्यहाँ जाने गरेको उहाँ बताउनुहुन्छ । “अन्यत्र किनमेल गर्दा ताजा नपाइने र महँगो पनि पर्ने भएकाले हरेक दिन बिहान यहाँ सागसब्जी लिन आउने गरेकी छु,” उहाँले भन्नुभयो, “कृषि उपज केन्द्रले हामीजस्ता विद्यार्थी र मेहनत गर्ने किसान दुवैलाई सहज बनाएको छ ।”
किसानबाट सिधै सुपथ मूल्यमा आवश्यक सागसब्जी किन्न पाउँदा आफू खुसी भएको उहाँले बताउनुभयो । केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका वस्तु बिक्रीका लागि सहज बजार पाउनुका साथै उपभोक्ताले पनि सस्तोमा ताजा कृषि उपज किन्न पाएको उहाँको भनाइ छ ।
घोराही उपमहानगरपालिका–१५ की सरिता खड्का पनि हरेक बिहान यही केन्द्रबाट सागसब्जी खरिद गर्नुहुन्छ । विगतमा किसानले आफ्नै तरिकाले सागसब्जी तथा फलफूल बिक्री गर्दै आए पनि कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएपछि किसान र उपभोक्ता दुवैलाई सहज भएको उहाँ बताउनुहुन्छ ।
“बाहिरभन्दा यहाँ सागसब्जी राम्रो पाइने भएकाले बिहानै लिन आउने गरेकी छु,” उहाँले भन्नुभयो, “बिहान हिँड्दा स्वास्थ्यलाई पनि फाइदा हुने र ताजा सागसब्जी पनि लैजान पाइने भएकाले राम्रो भएको छ ।”
बिचौलियाको प्रभाव कम हुँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा कृषि उपज खरिद गर्न पाउने उहाँले बताउनुभयो ।
घोराही उपमहानगरपालिका–७ का किसान रामकुमार चौधरीले व्यापारीले अन्यत्र सस्तो मूल्यमा सागसब्जी खरिद गर्न खोज्ने भए पनि कृषि उपज बिक्री केन्द्रमा आफूले तोकेको मूल्यमा बिक्री गर्न पाएको बताउनुभयो । उहाँले १५ कठ्ठा जग्गामा व्यावसायिक रूपमा सागसब्जी खेती गर्दै आउनुभएको छ ।
“बाहिरको मूल्यभन्दा पाँच–दश रुपैयाँ बढीमा यहाँ बिक्री गर्ने गरेको छु,” उहाँले भन्नुभयो । सागसब्जी खेतीबाट मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
केन्द्रमा आफ्नो उत्पादन राम्रोसँग बिक्री हुँदै आएको बताउँदै चौधरीले आफूले उत्पादन गरेका अधिकांश कृषि उपज यहीँ ल्याएर बिक्री गर्ने गरेको जानकारी दिनुभयो । “घरमा फलाएको काउली, बन्दा, गोलभेँडा, साग, खुर्सानी बेच्न ल्याउने गरेको छु । ल्याएको जति प्रायः सधैँ बिक्री हुन्छ, कहिलेकाहीँ मात्रै बाँकी रहन्छ,” उहाँले भन्नुभयो ।
घोराही उपमहानगरपालिका–८ की निर्मला चौधरी पनि घरमा उत्पादन भएको सागसब्जी बिक्री गर्न केन्द्रमा आउने गर्नुहुन्छ । व्यावसायिक रूपमा खेती नगरे पनि घरमा खाएर बचेको सागसब्जी बिक्री गर्न समस्या नभएको उहाँ बताउनुहुन्छ । केन्द्रबाट ताजा सागसब्जी सुपथ मूल्यमा पाउन थालेपछि उपभोक्तासमेत खुसी भएको उहाँको भनाइ छ ।
कृषि उपज बिक्री केन्द्रमा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा ताजा कृषि उपज खरिद गर्न पाउने अवस्था बनेको छ । घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको केन्द्रमा किसानले दैनिक रु १५ शुल्क तिरेर गाउँबाट ल्याएको ताजा सागसब्जी बिक्रीका लागि राख्ने गरेका छन् ।
घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डे कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका किसानलाई घरघरमा पुगेर सागसब्जी बिक्री गर्नुपर्ने बाध्यता हटेको छ भने बिचौलिया नहुँदा किसान र उपभोक्ता दुवै लाभान्वित भएका उहाँ बताउनुहुन्छ ।
