कृषिमा बढ्दो लागत घटाउन आधुनिक प्रविधिको सहारा, १५ मिनेटमै तीन रोपनी धान काट्न सकिने

वालिङ (स्याङ्जा), २९ असोजः स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ ।

गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको प्रयोग थालेको हो । पछिल्लो समय कृषि क्षेत्रमा लागत बढ्दै गएकाले त्यसलाई कम गर्न आधुनिक प्रविधि भित्र्याउनुपरेको कार्यालय प्रमुख सुदीप रेग्मीले बताउनुभयो ।

“हामीले उत्पादन गर्ने कृषि उपजको लागत मुल्य ह्वात्तै बढेर गएको छ ” उहाँले भन्नुभयो, “लागत मूल्य कम गराउन सकेको खण्डमा कृषक तथा उपभोक्तालाई प्रत्यक्षरुपमा लाभ पुग्छ ।”

कार्यालयले उन्नत जातका धान, गहुँ, कोदो लगायतका तरकारीजन्य बालीका बीउ उत्पादन गर्दै आएको छ । बीउ उत्पादनका लागि खेतबारीमा काम गर्ने कामदार पाउन कठिन हुने गरेको उहाँले बताउनुभयो ।

“कामदार लगाएर उत्पादन गर्दा लागत धेरै बढ्ने भएकाले पनि आधुनिक यन्त्र उपकरणको प्रयोगतर्फ जोड दिएका छौं” उहाँले भन्नुभयो, “पछिल्लो समय धान काट्ने रीपर मेसिन ल्याएर प्रयोग गरेका छौं, यसले छोटो समयमै धेरै क्षेत्रफलमा धान काट्छ ।”

कूल १० देखि १५ मिनेटमा तीन रोपनी धान काट्न सक्ने भएकाले पनि यो सस्तो, छिटोछरितो भएको उहाँ बताउनुहुन्छ । रीपरको प्रयोगले दिनभरी धान काट्न लाग्ने समयलाई घटाएर एकाध घण्टामा सिमित गरिदिने भएकाले समयको वचत हुने देखिन्छ ।

धान काट्नकालागि ज्यालामा श्रमिक नपाईने समस्या हटेर जानुकासाथै झण्डै ५० प्रतिशतसम्म लागत घट्ने उहाँ बताउनुहुन्छ ।

धान काट्ने मेसिनको प्रयोगले काटेको धानलाई एकैनासले पाँजा बनाउने र जमिनदेखि एउटै सतहमा सफा तरिकाले काट्ने भएकाले पनि पराल उठाउन र बाँध्न सजिलो हुने गरेको छ ।

सायिकरुपमा कृषि व्यावसाय गर्दै आएका समूह, सहकारी वा फर्मले धान काट्ने मेसिनको प्रयोग गर्दा उत्पादन लागत घट्ने भएकाले यसको प्रयोग अझ उपयोगी हुने उहाँले बताउनुभयो ।

कार्यालय परिसरमा २२ रोपनी र वालिङ १ बगुवामा ८३ रोपनी क्षेत्रफलमा व्यावसायिकरुपमा धानको बीउ उत्पादन गर्दै आएको छ । कार्यालयले रामधान, हर्दिनाथलगायतका उन्नत धानका बीउ उत्पादन गर्दै आएको छ । उत्पादित बीउको सम्पूर्ण प्रक्रिया पूरा गरी बिक्री वितरण हुने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?