च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम

डडेल्धुरा, १८ कात्तिक:

वैदेशिक रोजगारीका लागि विदेश पुगेका धेरै युवा स्वदेश फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने गरेका छन् । तर डडेल्धुराका एक किसानले भने विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउखेतीबाट आम्दानी गर्न सफल हुनुभएको छ ।

गन्यापधुरा गाउँपालिका-१ रुवाखोला (असिग्राम)का अन्तराम जोशी अहिले आफ्नै गाउँमा सिताके र कन्या च्याउको व्यावसायिक खेतीमा रमाइरहनुभएको छ । उहाँले विसं २०७७ देखि परालमा कन्या च्याउ उत्पादन सुरु गर्नुभएको थियो । त्यसपछि काठका मुडामा सिताके च्याउखेती विस्तार गर्दै आउनुभएको छ ।

जोशीको फार्ममा उत्पादित सिताके च्याउ प्रतिकिलो रु ८०० मा बिक्री भइरहेको छ । कन्या च्याउको मूल्य भने बजारमा हुने उत्पादन र मागअनुसार फरक पर्ने गरेको उहाँले बताउनुभयो । तराईका जिल्लामा च्याउको उत्पादन कम हुँदा प्रतिकिलो रु २०० भन्दा बढी मूल्य पाउने गरेको र उत्पादन बढ्दा रु १५० सम्ममा बिक्री गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

परिवारको जीविकोपार्जनका लागि जोशी २०६९ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो । त्यहाँ तीन वर्ष काम गरेर स्वदेश फर्किनुभएका उहाँले थप आम्दानीको खोजीमा युरोप जाने प्रयास गर्नुभयो । यसक्रममा काठमाडौँका विभिन्न म्यानपावर कम्पनी धाउने क्रममा उहाँले च्याउखेती गर्ने फार्ममा काम गर्ने अवसर पाउनुभयो ।

काठमाडौँका च्याउ फार्ममा करिब पाँच वर्ष काम गर्दा जोशीले च्याउ उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गर्नुभयो । युरोप जाने प्रयास सफल नभएपछि सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्ने सोच बनाएर उहाँ डडेल्धुरा फर्किनुभयो र च्याउखेती सुरु गर्नुभयो ।

काठमाडौँमा प्रतिकिलो रु एक हजार ५०० सम्म बिक्री हुने सिताके च्याउ गाउँमै उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने उहाँलाई सुरुमा शङ्का थियो । स्थानीय बजारमा यसको माग र स्वादप्रति उपभोक्ताको रुचि कस्तो रहला भन्ने चिन्ता पनि थियो । त्यसैले उहाँले परीक्षणका रूपमा ५० वटा काठका मुडामा सिताके च्याउको बीउ राखेर खेती सुरु गर्नुभयो । त्यससँगै कन्या च्याउ उत्पादनलाई पनि निरन्तरता दिनुभयो ।

करिब नौ महिनापछि काठका मुडामा सिताके च्याउ फल्न थालेपछि जोशीले डडेल्धुरा बजारमा बिक्री गर्न थालेको अनुभव सुनाउनुभयो । “स्थानीय उपभोक्ताले च्याउ मन पराउन थालेपछि मागसमेत बढ्दै गयो । त्यसपछि दोस्रो वर्षदेखि खेती विस्तार गरी करिब ६०० वटा काठका मुडामा सिताके च्याउ उत्पादन गर्न थालेको हुँ”, उहाँले भन्नुभयो ।

अहिले जोशीको फार्ममा उत्पादन सीमित भए पनि बजारमा सिताके च्याउको माग बढिरहेको छ । सातामा आठदेखि १० किलोसम्म सिताके च्याउ डडेल्धुरा बजार पठाउने गरेको उहाँले जानकारी दिनुभयो । च्याउ बिक्रीको प्रशस्त सम्भावना भए पनि मागअनुसार उत्पादन गर्न नसकिएको उहाँको भनाइ छ । तराईका जिल्लामा समेत सिताके च्याउको माग राम्रो रहेकाले उत्पादन बढाउन सके बजारको समस्या नहुने उहाँले बताउनुभयो ।

च्याउखेतीले आफूलाई गाउँमै स्वरोजगार बनाउनुका साथै अरूलाई पनि यसतर्फ आकर्षित गर्ने अवसर दिएको जोशीको अनुभव छ । पछिल्ला केही वर्षयता उहाँले सरकारी कार्यालयमार्फत सुदूरपश्चिमका तराईका जिल्लामा सञ्चालन हुने सिताके च्याउखेतीसम्बन्धी तालिममा प्रशिक्षकका रूपमा समेत काम गर्दै आउनुभएको छ ।

स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन, प्राविधिक सीप र बजारको मागलाई जोड्न सके च्याउखेती ग्रामीण क्षेत्रका किसानका लागि स्वरोजगार र आम्दानीको राम्रो माध्यम बन्न सक्ने उहाँको अनुभव छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments