धान फल्ने खेतमा बालुवा थुप्रियो, किसानले त्यही बगरमा फलाए २० क्विन्टल बदाम

झापा, १९ कात्तिकः सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा पर्नुभएका अग्रवालले एउटा जुक्ति निकाल्नुभयो – केही नयाँ खेती गर्ने । निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदामखेती ।

बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही हुनुभएको छ । बजारमा उहाँले फलाएको बदाम प्रतिकेजी रु १०४ का दरले बिक्री भइरहेको छ । “धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो,” उहाँले बदामखेतीको सङ्घर्षको कथा सुनाउँदै भन्नुभयो, “बाढीको कहरबाट म स्तब्ध भएँ, तर बिचलित भइनँ । कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थाले । बदाम फल्छ भन्ने थाहा पाएपछि म उत्साहका साथ नयाँ खेतीमा जुटेँ ।”

उहाँले भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर सुरुमा पाँच कट्ठा क्षेत्रफलमा बदामको परीक्षण खेती गर्नुभएको थियो । बाली सप्रिएपछि उत्साहित बन्नुभएका अग्रवालले हाल खेतीको क्षेत्रफल बढाएर दुई बिगाहा पु¥याउनु भएको छ ।

पहाडी क्षेत्रमा हुँदै आएको बदामखेती झापा जस्तो तराई क्षेत्रमा फस्टाउनु अनौठो भएको छ । तर, कृषि प्राविधिकहरुले तराई क्षेत्रमा बदाम फल्छ भनेर दिएको सल्लाहलाई उहाँले परीक्षणबाटै साबित गर्नुभयो ।

धान वा अन्य परम्परागत बालीभन्दा बदामखेतीबाट राम्रो फाइदा लिन सकिने उहाँको अनुभव छ । जेठ महिनामा रोपिएको बदाम कात्तिक महिनामा फलेपछि उहाँलाई अहिले बाली भित्र्याउने चटारो छ । बदाम लहरे बाली हो । उहाँले यसपटक बदाम बिक्री गरेर राम्रो आम्दानी हुने बताउनुभयो ।

खुकुलो, हलुका र बलौटे–दोमट माटो भएकाले तराईको न्यानो मौसम बदाम उत्पादनका लागि उपयुक्त मानिने झापा गाउँपालिकाका कृषि प्राविधिक रीता बर्देवाले बताउनुभयो । स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले बदाम अति नै गुणकारी मानिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments