अलैँचीको मूल्य बढेपनि किसानले पाएनन्

अलैँची

फुङ्लिङ: ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् ।

विगत केही वर्ष अलैँचीको मूल्यमा निरन्तर गिरावट भएको थियो । यस वर्ष पनि अलैँची कारोबारको समयमा खासै मूल्य नआएको अर्थात प्रतिमन ९४० किलोग्राम० २२ देखि २५ हजार रुपैयाँसम्म भएको थियो । पछिल्लो चार/पाँच वर्षयता मूल्य बढ्ने भन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैँची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरिद बिक्री गरिसकेकाले हालको मूल्य वृद्धिको फाइदा लिनबाट उनीहरु बञ्चित भएका हुन् ।

अहिले अलैँचीको मूल्य वृद्धि भएर प्रतिमन ३० देखि ३२ हजारसम्म पुगेको छ । मूल्य वृद्धि भए पनि त्यसको फाइदा लिन नपाएको फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्र रेग्मीले बताए। पहिले सिजनमै अलैँचीको कारोबार गरिसकेकाले अहिले बेमौसममा मूल्य बढेका कारण त्यो फाइदा लिन नपाएको रेग्मीको भनाइ छ ।

यस्तै फुङ्लिङ बजारकै अलैँची व्यवसायी दिनेश अधिकारीले पनि वृद्धि भएको मूल्यको फाइदा किसान तथा स्थानीय व्यवसायी दुवैले लिन नपाएको बताए ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यवसायी अधिकारीका अनुसार कारोबारको मौसममा आएको मूल्यमा सबै अलैँची बिक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा लिनबाट बञ्चित हुनुपरेको हो । शुरुका वर्षमा भने किसान तथा स्थानीय व्यापारी दुवैले राम्रो मूल्यको पर्खाइमा अलैँची पछिसम्म कारोबार नगरी थन्क्याएर राख्ने गर्दथे । पछिल्लो समयमा भने मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्दै जाने हुँदा शुरुमै कारोबार गर्ने गरेको स्थानीय व्यवसायी बताउँछन् ।

ताप्लेजुङमा भने चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट यसवर्ष मात्र दुई हजार ९६० मेट्रिकटन अलैँची उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्याङ्क अनुसार यसवर्ष जिल्लामा गत वर्षभन्दा करिव १० देखि १५ प्रतिशतले अलैँची उत्पादन वृद्धि भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?