क्षति बेहोर्दै आएका किसानलाई खैरहनी नगरपालिकाको निःशुल्क कृषि बीमा कार्यक्रम लागू

चितवन:

पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन्। बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्ष २०७७-७८ देखि यो कार्यक्रम लागू गरिएको हो। किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालीमा प्राकृतिक प्रकोप आदिका कारण क्षति हुने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क कृषि बीमा गर्ने कार्यक्रम ल्याएको नगरप्रमुख लालमणि चौधरीले बताए ।

हावाहुरी, असिनापानीका कारण प्रत्येक वर्षजसो क्षति बेहोर्दै आएका यहाँका किसानलाई राहतस्वरूप बीमा कार्यक्रम लागू गरिएको हो। प्रकृतिलाई कसैले रोक्न नसक्ने भन्दै प्रमुख चौधरीले भने, “आफ्नो बालीको बीमा गरे, त्यस्ता घटनाबाट हुने क्षतिमा राहत मिल्छ।” बीमाले जोखिमबाट किसान मुक्त हुने नगरप्रमुख चौधरीको विश्वास छ ।

दुई वर्षअघि असिनापानी र हावाहुरीका कारण सयौँ किसानको बालीमा क्षति पुगेपछि नगरपालिकाले मूल्याङ्कन गरेर राहत उपलब्ध गराएको थियो। बीमा कार्यक्रम ल्याएपछि पहिलो चरणमा १२ किसानले प्रिमियम रकम पाएका छन्। प्रिमियम रकम प्रदान गरेको थाहा पाएपछि थप केही किसानले समेत बीमा गरेको कागजपत्र पेश गरेका छन्। बाह्र किसानलाई बीमा गरेवापत रु ४५ हजार उपलब्ध गराइएको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख दीपेन्द्र अर्यालका अनुसार तरकारी, फलफूल, खाद्यान्न आदि बालीमा बीमा गर्दा सङ्घीय सरकारबाट किसानले प्राप्त गर्ने ७५ प्रतिशत प्रिमियममा अनुदान हुने व्यवस्था रहेकामा खैरहनी नगरपालिकाले २५ प्रतिशत किसानले तिर्नुपर्ने प्रिमियम शुल्कमा पनि अनुदान दिएर किसानले निःशुल्क बीमा गर्न सक्ने व्यवस्था मिलाएको हो ।

चालु आवमा प्रिमियम अनुदानमा रु चार लाख विनियोजन गरिएको थियो। सो बजेट आगामी आवका लागि वृद्धि गरी रु १० लाख यस कार्यक्रमलाई छुट्याइएको कृषि शाखा प्रमुख अर्यालले बताए। विभिन्न कारणबाट बालीमा हुने क्षति असरलाई न्यूनीकरण गर्ने तथा किसानलाई बाली बीमाप्रति आकर्षित गर्ने नगरपालिकाको योजना रहेको उनले जानकारी दिए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?