मौरी पालन :सिक्किम पुग्दै बागलुङमा उत्पादित मौरीघार

बलेवा: बागलुङमा उत्पादित आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेका छन् । बागलुङ नगरपालिका–१२, अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका छन् ।

सिक्किमको कृषि विज्ञान केन्द्रले यहाँ उत्पादन भएका घार खरिद गरेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको हो। सार्वजनिक सूचनामार्फत् मूल्यसूची माग गर्दा स्थानीय कम्पनीसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलब्ध गराउने जिम्मेवारी पाएको थियो। पहिलो चरणमा २२६ घारका लागि विज्ञान केन्द्रले माग पठाएकाले निर्यात प्रक्रिया थालेको उद्योग सञ्चालक जीवनबाबु खत्रीले बताए ।

“पत्रिकामा आएको सूचनाका आधारमा मूल्यसूची पेश गरेका थियौं, हाम्रो घारको गुणस्तर र मूल्य दुवै सारभूत भएको भन्दै हामी छनोटमा परेको सूचना आयो”, खत्रीले भने, “त्यहाँको सरकारी निकायले नै हाम्रो घर किसानलाई बाँड्ने भएपछि माग थप बढ्ने छ।” अहिले पनि भारतबाटै मौरीका घार नेपाल आइरहेको अवस्थामा यहाँ उत्पादित घार भारतीय किसानको घर घरमा पुग्नु आफ्ना लागि सुखद पक्ष भएको खत्री बताउँछन् ।

“सुन्दै आएको छु, वार्षिक रुपमा नेपालमा ४० देखि ५० हजार मौरीघार भारतबाट आयात हुन्छन्, सहज वातावरण हुने हो भने आयात घटाएर निर्यात गर्न सकिन्छ”, उनले भने। टुनीको काठबाट बनेका घरको माग बढी छ। पहिलो पटक भारत निर्यात गर्न थालेको सो उद्योगले नेपालबाट भन्सार पार गाराउन पुर्याउनुपर्ने प्रक्रिया भने झण्झटिलो रहेको जनाएको छ ।

“युवाहरु किन यहाँ काम हुँदाहुँदै विदेशिन्छन् भनेर बल्ल बुझ्दै छु, घार बनाउन गाह्रो छैन्, तर बिक्री गर्ने प्रक्रियाले बनाउँदाको भन्दा तीन गुणा बढी झण्झट व्यहोर्नु पर्यो”, खत्रीले भने, “वातावरण सहज भए हाम्रो उत्पादन पनि विदेश निर्यात हुने रहेछ।” उद्योगमा नौ जना कालीगढले घार बनाउने काम गर्छन्। नेपालमा मात्रै खपत हुने गरेका मौरिघार विदेशमा समेत माग हुँदा उत्पादन र रोजगारी दुवै बढ्ने खत्री बताउँछन् ।

वार्षिक एक हजार दुई सय घार उत्पादन गर्दै आएको सो उद्योगले पोखराबाट टुनीको काठ खरिद गरेर घार बनाउने गरेको छ। मूल्य प्रतिघार रु तीन हजारदेखि रु तीन हजार ६००सम्म रहेको छ। “यो जिल्लावासी र देशकै लागि सुखद कुरा हो, छिमेकी मुलुकमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न पाउनु”, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई भन्छन्, “वैज्ञानिक रुपमा उत्पादन भएका घार निर्यातमा हामी सहयोग गर्छौं ।”

उद्योगले मौरीसहितका घारलाई भने आठ हजार ५०० मा बिक्री गर्ने गरेको छ। एक सय घार मौरी रहेको उद्योगमा वार्षिक हजारौं लिटर मह उत्पादन हुन्छ। बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो रु एक हजारमा बजारमा बिक्री हुने गरेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?