वाग्मतीको प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने

कालिमाटी फलफूल तथा तरकारी बजार

ललितपुर:

भौगोलिक दृष्टिले अति विकट मानिने दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने भएको छ। स्थानीयस्तरमा उत्पादित फलफूलका साथै तरकारी तथा अन्यबाली खरिद बिक्रीका लागि सो बजार सञ्चालन गर्न लागिएको हो ।

वाग्मतीका साथै नजिकै रहेका गाउँवासीको समेत उत्पादन सङ्कलन गरी बजारमा बिक्री गर्न राखिने वडाध्यक्ष नारायणबहादुर घलेले बताए। उनले भने, “सुरुआतका केही समयमा हप्ताको एक दिन मात्रै बजार खुलाउने छलफल भएको छ, किसानको आर्थिकस्तर उकास्न १० कोठाको ट्रस्ट निर्माण गरी शनिबार मात्रै उद्घाटन गर्यौं ।”

सो बजारको आठ कोठामा शनिबार मात्रै स्थानीयस्तरमा उत्पादित कोदो, फापर, गुन्द्रुक, चिया, कफी, मकै, धान, मासु, फलफूल, तरकारी र लत्ताकपडा आदि बस्तु राखेर बिक्री गरिएको घलेले जानकारी गराए। उक्त बजारमा कान्ति लोकपथको सहयोगले हेटौँडाका साथै मकवानपुरवासीसमेत ताजा सामान खरिद गर्न आउने स्थानीय दीपक घिमिरेले बताए ।

उनले भने, “बजार चलाएसँगै नौला वस्तु उत्पादनमा समेत जोड पुग्ने भएको छ।” वाग्मतीको लगभग २५ प्रतिशत खेतीयोग्य जमिनमा थरिथरिका तरकारी अनि फलफूलका साथै बाली उत्पादन हुने गरेकाले सो बजार सञ्चालनले किसानको जीवन उकासिने भएको कृषि विकास शाखा प्रमुख सुवास खनालले बताए ।

उनले भने, “यस स्थानको तरकारी भण्डारणका लागि तीन ठाउँमा सङ्कलन केन्द्रका साथै अर्काे एक स्थानमा पाँच हजार किलो अट्ने एक शीत भण्डारको पनि व्यवस्था छ ।”

यसैगरी, गाउँपालिकाले गत भदौ ४ गतेदेखि सोही वडाबाट यहाँका ताजा तरकारी सङ्कलन गरेर मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारमा बिक्री गराउनाका साथै ११ गतेदेखि गाउँपालिकाका खेतीयोग्य जमिनको गुण कस्तो छ र अब कस्ता प्रकारका खेती फस्टाउँछ भन्ने जानकारी हासिल गर्न डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भूगोल र हावापनी सुहाउँदो खेती गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने योजना सार्वजनिक गरेको थियो। गाउँपालिकाले कृषिलाई थप आधुनिकिकरण, यान्त्रीकरण र विशिष्टीकरण गरी उत्पादकत्व तथा उत्पादन वृद्धि गर्नाका साथै बजार व्यवस्थापन, बाँझो जमिन उपयोग र जनशक्ति व्यवस्थापन जस्ता कार्य सञ्चालन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

गाउँपालिकाले ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि: वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई आत्मसाथ गर्दै सो वडामा कृषि हाट बजार सञ्चालन गर्ने जानकारी गराएअनुरुप उक्त काम सुरु गर्न लागेको हो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?