वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार

खानेपानी

सिमकोट: आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि यहाँ खानेपानीको चरम हाहाकार भएको छ। पहिरोले हुमाने तथा छ्याल्दर खोलामा रहेको मुहानलाई बगाएको थियो ।

अहिले सदरमुकामवासीलाई तीनधारा र सिमसार क्षेत्रमा रहेका धारामा घण्टौँसम्म लाइन बसेर पानी थाप्नुपर्ने अवस्था सिर्जना भएको छ। बाढीले बगाएको खानेपानी मर्मतका लागि नेपाली सेना र खानेपानी उपभोक्ता समितिका कर्मचारी मर्मतसम्भारमा लागि परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार खानेपानीको मुहान मर्मत गर्न अझै एक हप्ता बढी लाग्ने भएको छ। यसैगरी, अविरलको वर्षाले खानेपानी तथा सिँचाइका संरचना बाढीले बगाएपछि खार्पुनाथ गाउँपालिका–२ थालीका ३० घरधुरी र सिमकोट गाउँपालिका–१ का २५ घरधुरीले खोलाको धमिलो पानी प्रयोग गर्दै आएका छन् ।

सिमकोट– १ कुम्लिङ गाउँका ती घरपरिवारले प्रयोग गर्दै आएको खानेपानीको संरचनालाई मङ्गलबार राति आएको बाढी पहिराले बगाएको थियो। अहिले खोलामा बगिरहेको धमिलो पानी पिउन बाध्य भएको स्थानीयवासी अविराज हमालले बताए। खानेपानी, सिँचाइसँगै करिब पाँच हल खेतीयोग्य जमिन बगाएको उनले जानकारी दिए ।

खार्पुनाथ– २ थालीका स्थानीयवासीलाई खानेपानी लिनका लागि गाउँभन्दा टाढा जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय मुनसिङ्गे दमाईंले बताए। उनले भने, “गाउँमा निर्माण भएका धारामा पानी आउँदैन, पानी आउने मुख्य मुहान नै बाढीले बगाएको छ। यहाँका ३० घरपरिवारले खानेपानी ल्याउनका लागि गाउँ नजिकका खोलामा गएर धमिलो पानी थाप्नुपर्ने अवस्था छ । ” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?