मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालनप्रति आकर्षण बढ्दो
बागलुङ: विदेशको सपना लत्याएका २९ वर्षीय मिलन राना अहिले बङ्गुरपालनमा भविष्य खोज्दै छन्। जैमिनी नगरपालिका–१ कुश्मीसेरामा उनको पशुपक्षी फार्म छ। फार्ममा अहिले ४२ बङ्गुर छन् ।
गत साउनबाट सुरु गरेको बङ्गुरपालन व्यवसायमा उनले रु २१ लाख लगानी गरेका छन्। फार्ममा एक सय ७० बङ्गुर पाल्ने क्षमता छ। बङ्गुर थप्दै जाने योजनामा राना छन्। गत भदौयता बङ्गुर बेचेर चार लाख जति कमाइ भित्राएको उनले सुनाए ।
बङ्गुरपालक किसानले धेरैजसो पाठापाठीबाट आम्दानी गर्छन् । मासुका लागि बेच्दा प्रतिकिलो रु. तीन सय ७० सम्म पर्छ। महिनादिन पुगेका पाठापाठी रु. ६ हजारमा बिक्री हुने गरेको किसान बताउँछन्। माउ बङ्गुरले एकै बेतमा १६÷१७ वटासम्म पाठापाठी पाउँछ ।
“फार्मबाट धेरै पाठापाठी नै बिक्री हुन्छन्, हुर्केका बङ्गुर मासुका लागि बजार जान्छ”, व्यवसायी रानाले भने, “बजार माग बढ्दै गएकाले बङ्गुरमा गरेको लगानी खेर जाँदैन, व्यवसाय सन्तोषजनक नै छ।” उनले पहिले सोही ठाउँका याम पुनले चलाएको फार्म किनेका हुन्। बङ्गुर फार्मसँगै उहाँको ब्लक उद्योग पनि छ। दुवै व्यवसायमा उनको रु ३२ लाख जति लगानी छ। छ जनाले रोजगारी पाएका छन् ।
उनले ब्लक र फार्मका लागि वार्षिक रु ४२ हजार तिर्ने गरी ठेउलेखोलाछेउ जग्गा भाडामा लिएका छन्। उनकोसँगै त्यहाँ अरुपनि बङ्गुर फार्म लहरै छन्। जेनिसा बङ्गुर फार्ममा रहेका ३० बङ्गुरमध्ये छ ब्याउने छन्। ती सबै ब्याउँदा पाठापाठीले खोर भरिभराउ हुन्छ। फार्मका सञ्चालक कमला थापाले दुई वर्षदेखि बङ्गुरपालन व्यवसायमा लागेको बताइन् ।
कुश्मीसेरा बजारमा उनको मासु पसल पनि छ। श्रीमान जंगबहादुरसँगै उनी बङ्गुरपालनमा रमाइरहेका छन्। “आफ्नै मासु पसल पनि भएकाले बङ्गुर बेच्न सहज छ, पाठापाठीबाट पनि राम्रो कमाइ हुन्छ” उनले भनिन्, “हामीसँगै कुश्मीसेरा बजार आसपासमा १५ बढी किसान बङ्गुरपालनमा लाग्नुभएको छ, व्यवसायबाट सबै खुसी हुनुहुन्छ ।”
यही नजिकै विकास श्रीसको बङ्गुरपालन व्यवसाय छ। त्यहाँ अहिले १७ वटा बङ्गुर छन्। १२ लाख खर्चेर तीन वर्षअघिदेखि बङ्गुर फार्म चलाएको श्रीसले बताए। उनीसँग हाँस र माछापालन गर्ने योजना पनि छ। वार्षिक रु. २१ हजार तिर्नेगरि जग्गा भाडा लिएर श्रीसले फार्म खोलेका हुन्। मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालनमा किसानको आकर्षण बढेको जैमिनी नगरपालिकाका पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए ।
अहिले गाउँगाउँमा व्यावसायिक रुपमा बङ्गुर पाल्ने क्रम बढेको उनको अनुभव छ। पहिले थोरै पाल्ने किसानले पनि अहिले संख्या बढाउँदै लगेका छन्। लगानी थपेका छन्। न्यून पूँजी भएका किसानले पनि बङ्गुरपालनबाट वर्षमा चार÷पाँच लाख रुपैयाँ कमाउन थालेका छन्। थोरै लगानी र कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन रोजाइमा पर्न थालेको हो ।
किसानलाई बङ्गुरपालनमा प्रोत्साहित गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र नगरपालिकाले अनुदान सहयोग गर्दै आएको छ। दर्ता भएका र मापदण्ड पूरा गर्ने बङ्गुरपालक किसानलाई नगरपालिकाबाट प्रोत्साहन अनुदानबापत रु. २५ हजार सहयोग गरिएको पशु शाखा प्रमुख ढकालले जानकारी दिए। उनका अनुसार जैमिनीभरिमा सयभन्दा बढी किसान बङ्गुरपालन व्यवसायमा छन् ।
व्यवसाय दर्ता गरेर चलाउनेको संख्या भने कम छ। जैमिनी–१० को राङखानी बङ्गुरपालनका लागि बढी उपयुक्तस्थल मानिन्छ। त्यहाँ बङ्गुरको पकेट क्षेत्र विकास गर्न पशु सेवा विज्ञ केन्द्रले योजना सञ्चालन गरेको छ। जैमिनीसहित बागलुङ, गलकोट नगरपालिका, काठेखोला गाउँपालिकालगायतका क्षेत्रमा बङ्गुरपालन व्यवसाय फस्टाउँदो छ । रासस
