पाँच महिनामा १ सय १५ टन चिनियाँ खाद्य सामग्रीको आयात
रसुवा: रसुवागढी नाकाबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा १ सय १५ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ ।
खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको तथ्यांक अनुसार फूल तथा सागपातजन्य वस्तु ३२ दशमलव ७ टन, खाद्यान्न दलहन तथा अन्य १५ दशमलव ४ टन, मसलाजन्य ६ दशमलव ८, मासुजन्य २ दशमलव ४, चियाजन्य ७ दशमलव ४ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका २३ दशमलव ५ टन खाद्य सामग्री आयात भएको हो ।
चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ। नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा गत वर्षको तुलनामा खाद्य सामग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए। अहिले एकद्वार प्रणाली लागू भएपछि इम्पोर्ट पर्मिट नलिएकाहरुको सिष्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको संख्या बढेको उनको भनाइ छ ।
