जुम्लाका सबै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम

स्याउ

खलङ्गा: जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्र्षपछि यहाँका आठवटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ । परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो ।

यहाँको चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा सञ्चालन भइरहेको थियो । अब सिजा हिमा, कनकासुन्दरी र तिला गाउँपालिकामा कार्यक्रम लागू हुने भएको छ । विस्तार गर्न बाँकी वडा पातारासीका १, २, ३ र गुठीचौरका १ र २ वडामा लागू हुनका लागि पत्र प्राप्त भएको छ । परियाजना कार्यान्वयन एकाइ खुमलाटारका निर्देशक वैकुण्ठ अधिकारीको हस्ताक्षरित पत्र कार्यालयमा पुगेको निमित्त कार्यालय प्रमुख पोख्रेलले बताउनुभयो ।

पत्रानुसार जुम्ला जिल्लामा सञ्चालित स्याउ सुपरजोन क्षेत्र विस्तारको लागि परियोजना कार्यदलको पत्र तथा जिल्ला परियोजना कार्यान्वयन तथा तथा अनुगमन समितिको सिफारिसअनुसार परियोजना व्यवस्थापन एकाइको निर्णयअनुसार स्याउ सुपरजोन थप क्षेत्र थप गरिएका हुन् । परियाजना निर्देशक अधिकारीले स्थानीय स्तरबाट आएको माग र प्राविधिक प्रतिवेदनको आधारमा जुम्लाका तिला, हिमा, सिंजा, कनकासुन्दरीसहितका छुटेका क्षेत्रमा कार्यक्रम थप गर्ने काम भएको जानकारी दिनुभयो ।

ढिला निर्णय भएकाले कार्यक्रम भने केही क्रियाकलापबाहेक अर्को आर्थिक वर्र्षबाट पूर्णरुपमा कार्यक्रम लागू हुने उहाँले बताउनुभयो । परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने रहेको छ । सोहीअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइ स्थापना गरि काम भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तिला गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागूसमेत गरिएको छ । सिमीको उत्पादन वृद्धि तथा बजारीकरणका लागि कार्यक्रम सो गाउँपालिकाको वडा नम्बर १ र २ मा कार्यक्रम लागू गरिएको हो । सुपरजोन स्थापना भएपछि कृषि प्रविधि, हाइटेक नर्सरी, घेरवार, सिँचाइ, बिरुवा अनुदानलगायतका काम भइरहेको कार्यालयले जनाएको छ । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments