काठमाडौँका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर
काठमाडौँ : उपत्यका विभिन्न ठाउँमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो रोगका कारण एक हजार १९ सुँगुर तथा बङ्गुर मरेको पशुसेवा विभागले जनाएको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखा परेपछि नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग देखापरेको हो ।
पशु सेवा विभागबाट खटिएका प्राविधिक टोलीले प्रदेश र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायसँग सहकार्यमा रोगको सघन निगरानी गर्ने क्रममा काठमाडौँको कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली र ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा पालिएका फार्ममा रोग देखा परेको पाइएको हो । यो रोग बङ्गुरमा नेपालमा पहिलो पटक देखा परेको हो ।
