बाहिरबाट भित्रिएको अण्डासँग प्रतिस्पर्धा गर्न नसक्दा बागलुङमा उत्पादन घट्यो

अण्डाको मूल्य

बलेवा: जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ। गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो ।

जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा अण्डा उत्पादन भइरहेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ। यो तथ्याङ्क गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो। उत्पादित अण्डाले जिल्लाको जनसङ्ख्यालाई भाग गर्दा प्रतिव्यक्ति वार्षिक दुई वटा अण्डा अझै अपुग रहेको केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताए ।

विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक व्यक्तिका लागि वार्षिक ४८ अण्डाको आवश्यकता हुन्छ। तर बागलुङमा उत्पादित अण्डाले हरेक व्यक्तिलाई वार्षिक ४६ मात्रै पुग्ने गरेको छ। बाहिरी जिल्लाबाट आउने अण्डासँग प्रतिस्पर्धा गर्न नसकेका कारण व्यवसायीहरुले अण्डा उत्पादन कम गरेका हुन् ।

दानाको मुल्यवृद्धि हुने र अण्डाको मूल्य घट्ने गरेका कारण घाटा सहन नसकेर अण्डाको उत्पादन कम गर्नुपरेको केसी एकीकृत पशु विकास विडर्स फार्म बागलुङका सञ्चालक खड्कबहादुर केसीले बताए। केसीले पाँच करोड लगानी गरेर पाँच वर्षदेखि अण्डा उत्पादन गर्दै आएका छन् ।

‘‘एकातिर ठूलो मात्रामा उत्पादन गर्ने तराईका कम्पनीले बजारमा निकै सस्तो मूल्यमा अण्डा पठाउँदा हाम्रो अण्डाले बजार पाउँदैन्, अर्कोतर्फ उत्पादन लागत ह्वात्तै बढेको छ’’, केसीले भने, ‘‘उत्पादन लागत र बजार मूल्यकै कारण अण्डाको व्यवसाय गर्न नसकिने अवस्थामा पुग्यो ।’’

उनले अहिलेकै अवस्था रहे अण्डाको उत्पादन घट्ने मात्र नभएर यहँको उत्पादन शून्यमा पुग्ने बताए। अण्डाको उत्पादन लागतका आधारमा आधार मूल्य तोक्ने र सोही अनुसारको बजार व्यवस्थापन नगरे व्यवसायी विस्थापन हुने अवस्थामा पुग्ने उनले बताए ।

‘‘दानाको मूल्य दुई हजार हुँदा एक पेटी अण्डको मूल्य दुई हजार सात सयदेखि तीन हजार थियो’’, केसीले भने, ‘‘अहिले दानाको मूल्य बढेर तीन हजार सात सय पुग्यो अण्डाको मूल्य घटेर रु दुई हजार पाँच सय पेटीमा झरेको छ ।’’

बागलुङमा उत्पादित अण्डा व्यवसायीले समान्य नाफा मात्रै लिँदा रु दुई हजार आठ सय प्रतिपेटी पर्ने गरेको छ भने बाहिरी जिल्लाबाट दुई हजार तीन सयदेखि दुई हजार पाँच सय सम्ममा प्रतिपेटी अण्डा आयात हुने गरेको छ। जिल्लाभर घरायसी प्रयोजनका लागि उत्पादन हुनेबाहेक ३० वटा मात्रै फार्मले अण्डा उत्पादन गर्छन्। तीमध्ये अधिकांश फार्महरुले दैनिक एक हजारभन्दा कम अण्डा उत्पादन गर्ने गरेको तथ्याङ्क छ ।

‘‘पहिले एक हजारमाथि उत्पादन गर्ने किसानले पनि पछिल्लो समय व्यवसायबाट हात झिके’’ विज्ञ केन्द्रका प्राविधिक अधिकृत केशव शर्माले भने, ‘‘हामी आत्मानिर्भरको बाटोमा थियौँ, तर बाहिरी बजारले हाम्रा किसानलाई किच्यो ।’’

घरायसी प्रयोजनका लागि पालिने स्थानीय जातको कुखुराले वार्षिक ४० देखि ५० वटा मात्रै अण्डा दिने र व्यावसायिक रुपमा अण्डा उत्पादनका लागि पालिने कुखुरामा कमी आएकाले आवश्यकता अनुसारको उत्पादन नभएको उनले बताए। सरकारले अण्डा उत्पादक किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याएको भए पनि अपर्याप्त रहेको किसानको गुनासो छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?