किसानलाई बाली भित्र्याउने चटारो

सिन्धुपाल्चोक — दसैं सकिएलगत्तै जिल्लाका कृषकलाई धान भित्र्याउने चटारो छ । मौसम परिर्वतनले गर्दा धान पाक्न ढिला भएकाले दसैंलगत्तै कृषक धान भित्र्याउन कस्सिएका हुन्  ।

‘असारमा पानी ढिलो गरी पर्‍यो, धान पनि ढिलै पाकेकाले काट्न पनि ढिलै गरियो,’ बाह्रबिसे नगरपालिका राम्चेका रामबहादुर थापाले भने, ‘चाँडै जाडो सुरु भएकाले मौसमको भर छैन , त्यसैले धान काट्न हतारिएका हौं ।’ उनका अनुसार पहिले कात्तिक लागेपछि मात्रै जाडो हुन्थ्यो तर, यसपालि असोजको पहिलो साताबाटै जाडो सुरु भएको छ ।
‘वर्षाको डर छ, मानो रोपेर मुरी फल्ने बेला असिना पानी परे सबै पसिना खेर जान्छ,’ खेताला नपाएपछि परिवारकै सदस्य मिलेर धान झारिरहेकी बलेफी गाउँपालिका फुल्पिङकोटकी सुकुमाया तामाङले भनिन्, ‘धान भित्र्याउने चटारोमा सबैतिर एकैपटक लागेकाले हाल खेताला पाउनसमेत हम्मे परेको छ ।’

ज्याला बढ्नुका साथै खेताला पाउन छोडेपछि धान भित्र्याउन परिवारकै सदस्य मिलेर लागेको तामाङले बताइन् । थापालाई नयाँ घरको बाससँगै असारभरिको दु:ख रोपाइँ धानको भकारी कस्दा खुब आनन्द लागेको छ । नगरदेखि दुर्गम गाउँपालिकासम्म सबै कृषकलाई धानकै चटारोले छोएको छ । जिल्लाकै अत्यधिक धान उत्पादन हुने मेलम्ची नगरपालिकामा यो वर्ष धान उत्पादन बढेको कृषक बताउँछन् ।

मेलम्ची नगरपालिका फटेश्वरका राजकुमार भट्टराईले धानका लागि मेसिन पालैपालो गरेर प्रयोग गर्ने गरेको सुनाए । ‘ऋण गरेर बनाएको घर भए पनि धान भित्र्याउन सजिलो भएको छ,’ उनले भने, ‘तर टहरामा बसिरहेकालाई भने अझै समस्या बनेको छ ।’ उनले धेरैजसो किसान धान काटेकै खेतमा त्रिपाल ओछ्याएर सुकाउन बाध्य भएको बताए ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याकंअनुसार जिल्लामा १२ हजार हेक्टरमा ३४ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । यो वर्ष ९९ प्रतिशत भूभागमा रोपाइँ भएकाले ८ प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको १२ वटै स्थानीय तहका विषयगत कृषि विकास कार्यालयले जनाएका छन् ।

अघिल्लो वर्षमा ४ सय हेक्टर बाँझो थियो । हाल २ सय हेक्टर मात्रै खाली जग्गा देखिएको तथ्यांक छ । ‘यसले धान उत्पादन बढ्ने देखिन्छ, त्यसैले कृषक उत्साहसाथ फसलमा जमिरहेका छन्,’ चौतारा नगरपालिकाका कृषि कार्यालयका दुर्गादत्त पन्थीले भने ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?