मानव वन्यजन्तु द्वन्द्वः ‘अब ढुक्कले बस्न पाइने भयो’

खेतीपाती नष्ट

नवलपुर : चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा विद्युतीय तारबार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैँडा, बँदेललगायतका जङ्गली जनावर पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए । शनिबार गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार गरिएको मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले बताउनुभयो ।

“जङ्गली जनावरका कारण स्थानीयले धेरै दुःख पाएको गुनासो गर्दै आएका थिए”, उहाँले भन्नुभयो, “अब केही हदसम्म भए पनि जङ्गली जनावर गाउँ छिर्नबाट रोकिन्छन् ।” यस वडा र चितवन राष्ट्रिय निकुञ्जलाई नारायणी नदीले छुट्याएको छ । “नारायणी तरेर जङ्गली जनावर गाउँ छिर्दा धनजनको क्षतिसमेत हुने गरेको थियो”, वडाध्यक्षमहतोले भन्नुभयो, “नदी तरेर आए पनि विद्युतीय तारबाट जङ्गली जनावर सहजरूपमा गाउँ छिर्न सक्दैनन् ।” रातको समयमा तारमा विद्युतीय झड्का छोडिने भन्दै उहाँले तारमा छोडिएको विद्युतीय झड्काले वन्यजन्तुलाई हानी नपु¥याउने बताउनुभयो ।

“गाउँको सिमानामा जडान गरिएको विद्युतीय तारबाट वन्यजन्तुलाई क्षति पुग्दैन”, उहाँले भन्नुभयो, “जनावर गाउँ प्रवेश गर्न खोज्दा तारमा छोइएको अवस्थामा उनीहरुलाई करेन्ट लाग्दैन तर तारले जताबाट आएको हो उतै धकेल्ने काम गर्छ ।” विद्युत् नभएको समयमा जेनेरेटर प्रयोग गरेरसमेत विद्युतीय झड्का दिइने उहाँको भनाइ छ । गाउँमा करिब चार वर्षदेखि विद्युतीय तार बिग्रिएर बसेको थियो । नारायणी नदीको किनारै–किनार जोडिएको विद्युतीय तार बिग्रिएपछि गाउँमा बँदेल र एकसिङ्गे गैँडाले सताउँदै आएको स्थानीय सूर्यप्रसाद रेग्मीले बताउनुभयो । निकुञ्जबाट गाउँ पसेको गैँडाले गत वर्षमात्रै दुई जना स्थानीयलाई आक्रमण गरी घाइते बनाएको उहाँको भनाइ छ ।

“गाउँ र नारायणी नदीको सिमानामा लगाइएको विद्युतीय तारमा रातिमा मात्रै विद्युत् छोड्ने गरी हेरालु राखेका छौँ”, उहाँले भन्नुभयो, “रातिमा जनावर गाउँ प्रवेश गर्न नपाएपछि दिउँसो त आउँदैनन् ।” रातिमा जनावर गाउँ छिरेको अवस्थामा भने दिउँसै गाउँमा गैँडाले आतङ्क मच्चाउने गरेको रेग्मीले बताउनुभयो । “एक हप्ता अगाडिमात्रै दिउँसो १ बजेतिर गैँडा गाउँमा पस्दा सबैको भागाभाग भएको थियो”, स्थानीय रेग्मीले भन्नुभयो, “गाउँ पसेको गैँडा लखेट्नका लागि निकुञ्जको लामाचौर पोष्टबाट हात्ती ल्याउनुपर्ने अवस्थासमेत आउँछ ।” बँदेल तथा गैँडाका कारण यहाँका बासिन्दाले धान तथा गहुँखेती लगाउनै छाडेका उहाँले बताउनुभयो ।

“धानबारीमा गैँडा गएर चर्ने तथा मडार्ने गर्छ”, रेग्मीले भन्नुभयो, “खेती लगायो तर, भित्र्याउन पाइँदैन भने मेहेनतमात्रै किन गर्नु भनेर धेरैले धान तथा गहुँखेती गर्नै छाडिसके ।” बँदेलले पनि तरुल, आलुलगायतका बाली खाइदिने गरेको जनाइएको छ । वडाको पहलमा नगरपालिकाबाट विद्युतीय तारबार भएपछि भने अब खेतीपाती सुरक्षित हुनेमा स्थानीयवासी विश्वस्त छन् । ब्रम्हस्थानकी देवी पौडेलले अब जङ्गली जनावरको त्रास कम भएको बताउनुभयो ।

“पहिले त दिउँसै घरबाट बाहिर निस्कनसमेत डर हुने गरेको थियो”, उहाँले भन्नुभयो, “विद्युतीय तारबार लगाएपछि गाउँमा जनावर पस्दैनन् भन्ने सुनेका छौँ, त्यसैले अब ढुक्कले बस्न पाइने भयो ।” जनावरको त्रासका कारण साँझ परेपछि घर बाहिर निस्कनै डर हुने भएकाले गाउँ नै सुनसान हुने गरेको भन्दै अब भने गाउँमा रमाइलो माहौल छाउने उहाँको भनाइ छ । “चाडपर्वको समयमा पनि रमाइलो गर्न पाइने गरेको थिएन”, उहाँले भन्नुभयो, “अब भने ढुक्कले गाउँमा रमाइलो गरेर पर्व मनाउन पाइएला ।”(रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?