काठमाडौँमै सयपत्री फूलबाट राम्रो आम्दानी

काठमाडौँ: काठमाडौँको नागार्जुनका कृषकले सयपत्री फूलको खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–६ पोखरीडाँडाका किसानले तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री फूल बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् ।

बाँझो रहेको जग्गाको सदुपयोग गर्दै काठमाडौँको नागार्जुन–६ पोखरीडाँडाका कृषक ऋषि खत्रीले सयपत्री फूलको खेतीबाट वार्षिक रु एक लाखभन्दा बढी रकम आम्दानी गर्दै आएका छन् । विगत पाँच दशकदेखि फूलको व्यावसायिक खेती गर्दै आएका खत्रीले बाँझो जग्गाको सदुपयोग गर्दै वार्षिक एक लाखदेखि डेढ लाखसम्म आम्दानी गर्दै आएको बताए। उनले पोखरीडाँडाको २६ आना जग्गामा फूलखेती गर्दै आएका छन् ।

“विगत वर्षमा धेरै मात्रामा फूलको खेती गथ्र्यौँ, अहिले जग्गा बिक्री वितरण हुँदा र खेती गर्ने व्यक्ति नहुँदा फूलको खेती घटेको छ”, उनी भन्छन् । तिहार सुरु हुन केही दिन बाँकी रहे पनि फूल खोज्न भने व्यापारीहरू यतिखेर पोखरीडाँडा जाने गरेका छन् ।

सोही गाउँमा  विगत १२ वर्षदेखि फूल व्यवसायी गर्दै आएकी कान्छी गिरी पनि यतिबेला फूल टिपेर बजारमा पठाउने काममा जुटेकी छिन्। तिहार सुरु हुन केही दिन बाँकी छँदा नै बजारमा फूलको माग आएकाले फूल टिपेर बिक्री वितरण गर्न सुरु गरेको बताइन्। कान्छी गिरीले भने पोखरीडाँडाको एक रोपनी क्षेत्रफलमा फूलखेती गर्दै आएकी छिन् । उनले फूल बेचेर घरखर्च चलाउँदै आएको बताइन् । सोही गाउँमा मकै, कोदो, तरकारी उत्पादन हुने भए पनि त्यहाँका स्थानीयवासीले फूल व्यवसायलाई नै प्राथमिकता दिँदै आएका छन् । कान्छी गिरीले भने वार्षिक फूल बिक्रीबाट रु ३० हजारदेखि ५० हजार आम्दानी गर्दै आएको सुनाइन् ।

“आफैँ बजारमा लगेर बेच्न पाए राम्रो आम्दानी हुन्थ्यो, घरमा आएका व्यापारीलाई बेच्दा राम्रो भाउ पाइँदैन”, उनी भन्छिन् । उनले एक ढ्वाङ (चारपाथीको टिन) को रु पाँच सयमा बिक्री वितरण गर्दै आएको सुनाइन् । बजारमा फूल पुर्याउन सके एक ढ्वाङको रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी हुने उनको भनाइ छ । साउनमा बेर्ना सारेपछि तिहारमा ढकमक्क फूल्ने सयपत्री फूल यसपालि भने राम्रोसँग फुल्न पाएको छैन । एकातिर तिहार चाँडो पर्नु र अर्कातिर दसैँको समयमा भारी वर्षा हुँदा राम्रोसँग फूल फुल्न नपाएको किसान बताउँछन् ।

यतिबेला नागार्जुन नगरपालिकाको इचङ्गु, भैरवनाथ, पोखरीडाँडा, हवलदार बस्ती, भीरकोट, रामकोट, थाप्लेलगायतका स्थानमा फूल ढकमक्क फूलेको देख्न सकिन्छ । सोही स्थानमा दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेका ठूलोभाइ गिरी चाडपर्व चाँडो परेको कारण फूल राम्रोसँग फुलिनसकेको बताउँछन् । सोही क्षेत्रमा फुल्ने फूलहरु विशेष गरेर काठमाडौँको असन, इन्द्रचोकलगायतका स्थानमा बिक्री वितरण हुँदै आएको छ ।

नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । तिहारमा दिदीबहिनीले टीका लगाइदिँदा सप्तरङ्गी टीकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहिआएको छ । तिहारमा लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग हुन्छ । आजभोलि तिहारको समयमा घर कार्यालय सजाउनका लागि सयपत्रीको फूलको माला प्रयोग गरिन्छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments