सुपारी पकेट क्षेत्रको विकास गरिँदै

झापा, झापालाई धान उत्पादनको सुपरजोन घोषणा भएसँगै जिल्लामा सुपारी खेतीलाई समेत पकेट क्षेत्रका रूपमा नै विकास गरिने योजना अघि बढाइएको छ ।

कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा सुपारी जोन कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । मेचीनगर र अर्जुनधारा नगरपालिका बुद्धशान्ति गाउँपालिकालाई समेटेर ‘सुपारी जोन’ कार्यक्रम लागू गरिएको सुपारी जोनका प्रमुख राजेन्द्र खरेलले जानकारी दिनु्भयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको सुपारी जोनमा किसानलाई सुपारी खेतीतर्फ आकर्षित गर्नका लागि अनुदान तथा प्रोत्साहन दिन चालु आ.व. मा ३० लाख विनियोजन गरिएको छ । जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट २० हजार कृषक लाभान्वित भएको खरेल बताउँछन् । हाल दुई हजार ६३१ हेक्टर जग्गामा गरिएको सुपारी खेतीबाट वार्षिक नौ हजार ७१० मेट्रिक टन सुपारी उत्पादन भइरहेको छ ।

खरेलले सुपारी जोन कार्यक्रम सञ्चालनपछि उत्पादन बढ्ने, यसमा आश्रित किसानले नयाँ प्रविधि, सिँचाइ, मल र ऋण पाउने छन् । बढी सुपारी उत्पादन हुने मेचीनगरका चार वडा, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाको दुई हजार हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ । हालसम्म किसानले परम्परागत तरिकाले सुपारी खेती गर्दै आएकामा अब सुपारी जोनमार्फत प्राविधिक सेवा, प्रशोधन उद्योग, बजार र अनुदान बढी मात्रामा पाइने अपेक्षा गरिएको सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले बताउनुभयो ।

परियोजनामार्फत सुपारी खेती गर्ने किसानलाई सरकारले प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत तथा कृषि व्यवस्थापन सेवा पूर्वाधारमा ८५ प्रतिशत अनुदान प्रदान गर्ने छ । सुपारी किसान विश्वनाथ ढकाल तीन वर्षदेखि २५० क्विन्टल सुपारी निर्यात हुन नसक्दा गोदाममै थन्किएको बताउनुभयो ।

जिल्लामा ३४ वटा सुपारी सहकारी संस्था रहेका नेपाल केन्द्रीय सुपारी सहकारी सङ्घका अध्यक्ष लयप्रसाद भण्डारीले बताउनुभयो । सुपारी सहकारीले काँचो सुपारी प्रशोधन गर्न घरेलु कारखाना समेत सञ्चालन गरेका छन् । काँचो सुपारीलाई बोक्रैसँग भट्टीमा उसिन्ने र बोक्रा छोडाएर भित्री दानालाई घाममा सुकाउने परम्परागत प्रविधि बढी प्रचलित छ ।

यसलाई मेसिनबाटै बोक्रा छोडाउने र फाला बनाउने आधुनिक प्रविधि भित्रन थालेको छ । किसानले काँचो सुपारी प्रतिकिलो रु. २८ सम्ममा प्रशोधन कारखानालाई बेच्ने गरेका छन् । प्रशोधन भएको सुपारी प्रतिकिलो रु. ५० सम्ममा बिक्री हुने गरेको नेपाल सुपारीखेती विकास संस्थाका अध्यक्ष खतिवडाको भनाइ छ ।

प्रशोधन कारखाना सञ्चालनमा आएपछि स्थानीयले बोक्रा छोडाउने र सुकाउने रोजगारी पाएका छन् । प्रशोधन केन्द्र नहुँदासम्म काँचो सुपारी यस वर्ष प्रतिकेजी २५ देखि ३० रुपियाँमा बिक्री हुने गरेको छ । अहिले सहकारीले किसानलाई प्रतिकिलो ३० देखि ३२ रुपियाँसम्ममा दिन थालेका छन्, जिल्लाका अधिकांश सहकारीले आफ्नै प्रशोधन केन्द्र सञ्चालन गरेका छन् । गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?