बढ्यो कफीको मूल्य

पोखरा — राष्ट्रिय चिया तथा कफी बोर्डले फ्रेस र पार्चमेन्ट प्रकारका कफीको मूल्य बढाएको छ । चौधौं राष्ट्रिय कफी दिवसको अवसर पारेर शनिबारदेखि लागू हुने गरी मूल्य बढेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार फ्रेस चेरी ‘ए’ ग्रेडको प्रतिकिलो कफीमा २ रुपैयाँ बढाएर ८५ पुर्‍याइएको छ । यो कफी अर्गानिक भएको प्रमाणित हुनुपर्नेछ । यसैगरी सोही प्रकारको ‘बी’ ग्रेडको कफीमा पनि २ रुपैयाँ बढाएर ८० पुर्‍याइएको छ ।

यसका लागि अर्गानिक प्रमाणित हुनु पर्दैन । त्यस्तै पार्चमेन्ट कफीको हकमा प्रतिकिलो १० रुपैयाँ बढाइएको छ । पार्चमेन्ट ‘ए’ ४ सय २५ र ‘बी’ ग्रेड ४ सय १० पुर्‍याइएको छ । यसमा पनि ‘ए’ ग्रेड अर्गानिक प्रमाणीकरण हुनु अनिवार्य छ ।

यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले कफी उत्पादन लागतको विश्लेषणका आधारमा मूल्य बढाइएको बताए । ‘किसान केन्द्रित भएका हौं,’ उनले भने, ‘राज्यले मूल्य तोकेर हामीलाई संरक्षण गरेको छ भन्ने किसानलाई परोस् र बजारीकरणमा पनि सघाउ पुगोस् भन्ने उद्देश्य हो ।’ ‘ड्राइचेरी’ को भने मूल्य यथावत् छ । ड्राइचेरी ‘ए’ को १ सय ४०, ‘बी’ को १ सय र ‘सी’ ग्रेडको ४० रुपैयाँ प्रतिकिलो मूल्य छ ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई साकार पार्न भन्दै यस वर्षको कफी दिवसको नारा ‘प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको बृहत् अभियानमा जुटौं’ भन्ने छ । निर्यातजन्य कृषि उपजका रूपमा विश्व बजारमा पहिचान बनाउन नेपालको कफी सफल भएको छ । ‘कफीले मुलुकको आर्थिक समृद्धिमा सहयोग पुर्‍याउँदै आएको छ,’ गौतमले भने, ‘अब यसलाई सरकारी निजी, सहकारी क्षेत्रलगायत सबै सरोकारवालाको सामूहिक र राष्ट्रव्यापी अभियानमा थालेर प्रविधियुक्त व्यावसायिक कफी खेतीको प्रवद्र्धनको आवश्यकता छ ।’

कफी उत्पादक संघ कास्कीका अध्यक्ष विन्दुचन्द्र बरालले मूल्य बढदा प्रत्यक्ष रूपमा किसान लाभान्वित भएको बताए । ‘मूल्यसँगै कफीको उत्पादनमा पनि वृद्धि गर्न सरकारी पहल अनिवार्य भइसकेको छ,’ उनले भने, ‘युवा बिदेसिने, गाउँमा बस्नेले एक/दुई बोट लगाएर अब हुँदैन । व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा यो बढाउन आवश्यक छ ।’ अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको अत्यधिक माग रहेको तर एक प्रतिशत पनि पुर्‍याउन नसकिएको उनले बताए ।

गत आर्थिक वर्षमा नेपालमा ५ सय १३ टन ‘ग्रिनविन’ कफी उत्पादन भएको छ । यो त्यसभन्दा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो । कफी विस्तारका कारण उत्पादन बढेको हो । देशका विभिन्न जिल्लामा २ हजार ६ सय ५० हेक्टरमा कफी रोपिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार गत वर्ष ९ करोड ३७ लाख २५ हजार बराबरको ८४ दशमलव २२ टन कफी निर्यात भएको थियो । ६ करोड ५८ लाख ९१ हजार बराबरको कफी भने आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा आयात ६४ प्रतिशतले बढेको र निर्यात ११ प्रतिशतले घटेको हो । पछिल्लो समय नेपालीमा कफी खाने संस्कृति बढेकाले यहीँ खपत भएर निर्यात घटेको अनुमान बोर्डको छ ।
नेपालभर ११ लाख ९८ हजार ५ सय ३५ हेक्टरमा कफी खेती गर्न सकिन्छ । नगण्य मात्रामा कफी खेती गरिएकामा अब ठूलो स्केलमा व्यावसायिक रूपमा लाग्नुपर्नेसरोकारवाला बताउँछन् ।

‘स्थानीय तहलाई जिम्मेवार र प्राविधिक रूपमा सबल बनाएर कफी विस्तार गर्नुपर्ने बेला आएको छ,’ बोर्डको पोखरा कार्यालयका निर्देशक लक्ष्मण पोखरेलले भने, ‘उत्पादन र उत्पादकत्व वृद्धिसँगै गुणस्तर सुधारेर लैजानुपर्ने छ ।’ ठूलो लगानी आकर्षण गरी स्टेट फार्मिङमा जोड दिनुपर्ने उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गुल्मी, स्याङ्जा, अर्घाखाँची, प्यूठान र पाल्पालाई कफीको सुपर जोनमा राखेको छ ।

गौतमका अनुसार बोर्डले कफी लगानी मञ्चको आयोजना गर्न लागेको छ । त्यसपछि ठूला व्यवसायी र लगानीकर्ताको आँखा कफी क्षेत्रमा गएर लगानीको वातावरण बन्ने उनले विश्वास गरे ।

कफी एक पटक रोपेपछि ५ दशकसम्म फल दिने भएकाले किसानको पेन्सन पनि भन्ने गरिन्छ । नेपालमै पहिलोपटक गुल्मी आँपचौरका हीरा गिरीले विसं १९९५ मा बर्माबाट केही कफीका बिरुवा ल्याई रोपेका थिए । त्यसपछि फाट्टफुट्ट लगाउन सुरु गरिएको कफी फैलिएर ४२ जिल्लामा पुगेको छ । ३२ हजार किसान आबद्ध भइसकेका छन् । स्याङजा कफी उत्पादनमा देशमै अगाडि छ । २०४१ मा तत्कालीन राजा वीरेन्द्रले पश्चिमाञ्चललाई कफी क्षेत्र घोषणा गरेका थिए ।कान्तिपुर

Leave a Reply

Your email address will not be published.