व्यावसायिक टर्की पालन

टर्की मासुको लागि पालिने चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । ग्यालीफर्मस (Galliformes) अन्तर्गतको दुई जाति (species) एग्रोचारिस वा मेलाग्रिस वासिलाट (Agrocharis or Melagrias ocellata ) र कमन टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल खेलाउने चरो हो । तर यो मासु खानका लागि पनि उत्तिकै रुचिका साथ पालिन्छ । यसको विकास मेक्सीकोवाट भएको हो त्यसपछि तुरुन्तै इटलीले लग्यो । त्यसपछि स्पेन हुँदै युरोप अमेरिका र एशिया भरी नै छायो । यी दुई प्रकारका टर्कीमा पनि हावा पानी र भौगोलिक प्रभावले गर्दा विविधता पाईन्छ ।

जातहरु :

हुन त टर्कीका धेरै जातहरु विकास भएका छैनन् तैपनि अमेरीकाको पोल्ट्री संस्थाले विकास गरेका जातहरु व्रोन्ज, ह्वाईट हलैण्ड, व्राउन रेड नार्गान सेट, कालो स्लेट र स्मल ह्वाईट मुख्य हुन् । त्यस्तै जंगली जातवाट विकास गरिएका व्रोड व्रेनटेड व्रोन्ज र व्रोड व्रेन्टेड ह्वाइट हुन् ।

नेपालमा टर्की पालन :

नेपालमा टर्की कहिले आयो भन्ने कुराको यकिन गर्न नसकियतापनि यसको पालन भने काठमाण्डौमा फाट फुट देखिन्छ । परवानीपुर कृषि अनुसन्धान केन्द्रमा मिडियम ह्वाईट जातको टर्की २०५७ सालमा भारतको वरेलीवाट ल्याईएको हो । यहाँवाट व्यवसायिक रुपमा टर्की पालन गर्न चाहने कृषकहरुलाई चल्ला र प्रविधि वारे जानकारी दिईन्छ । वढी मूल्यमा वेचविखन हुने यो टर्कीको पालन निम्न अनुसार गर्न सकिन्छ ।
तालिका १

टर्कीलाई खुवाउने दानामा उमेर अनुसार प्रोटीन र शक्तिको मात्रा निम्न अनुसार हुनु पर्छ ।

तह उमेर प्रोटिन शक्ति / के.जी दाना
स्ट्रायर–१ ०–२ हप्ता २८ २९०० क्यालोरी
स्ट्रायर–२ २–४ हप्ता २६ ३००० क्यालोरी
ग्रोअर–१ ४–८ हप्ता २३ ३०५० क्यालोरी
ग्रोअर–२ ८–१२ हप्ता २० ३१५० क्यालोरी
डेभ्लपर १२–१५ हप्ता १८ ३२२५ क्यालोरी
फिनिसर–१ पोाथी १२–१६ हप्ता १६ ३२५० क्यालोरी
फिनिसर–२ भाले १५–१८ हप्ता १६ ३२७५ क्यालोरी

माथिको तालिका अनुसार शुरुको उमेरमा २८ प्रतिशत सिपि भएको दाना दिईन्छ । त्यसपछि चल्ला ठूलो हँुदै जाँदा प्रोटीनको मात्रा घटाउँदै जानु पर्दछ । यसरी टर्कीलाई विभिन्न तहको उमेरमा विभिन्न मात्रामा प्रोटीन र शक्ति भएको दाना दिनु पर्छ

व्यवस्थापन :

एउटा वयस्क भाले टर्की २४ हप्तामा १.३ मी अग्लो र १२ देखि १५ किलो तौल सम्मको हुन्छ । यस्तै पोथी टर्की भाले भन्दा सानो र ८ देखि १० किलो तौल सम्मको हुन्छ । टर्कीको भाले, पोथी पहिचान १२ –१३ हप्ताको उमेरमा गर्न सकिन्छ । ५ वटा पोथीको लागि एउटा भाले संगै राख्नु पर्छ । पोथीले आठ नौं महिना देखि फुल पार्न शुरु गर्छे । फुल ८० –८५ ग्राम तौलका हुन्छन् । फुल २८ दिन सम्म कोरले पछि चल्ला निस्कन्छ । टर्की ठूलो चरामा पर्ने भएकोले यिनिहरु ३ वर्षमा वयस्क हुन्छन् । टर्कीका चल्ला पनि कुखुराको चल्ला जस्तै हुर्काउन सकिन्छ । वढी नाफा कमाउन तालीकामा देखाए जस्तै उचित दाना पानी दिएर २०–२४ हप्ता उमेरमा वेच्नु पर्छ ।

यिनिहरुलाई खुल्ला वगैचा वा चउरमा छोड्न राम्रो हुन्छ । साथै थप चाराको लागि गहुँको चोकर, मकै, कनिका, मसिनो गरी काटेको तरकारीको टुक्रा विहान वेलुका दिनु पर्छ । जहाँ जग्गाको कमी छैन त्यहाँ ४–६ फिट अग्लो तारवार गरी १ कट्ठामा ५०–६० वटा टर्की पाल्न सकिन्छ । तीन, चार वर्षमा चरन परिवर्तन गरिरहनु पर्छ । गाई भैंसी संगै टर्की चराउन सकिन्छ तर वंगुर र भेडा संग चराउन राम्रो हुदैन । जंगलि जनावर र कुकुरले टर्कीलाई आक्रमण गर्दछ । त्यसवाट वचाउनु पर्दछ ।

व्यवसायिक रुपमा टर्की पाल्नेहरुले टर्कीलाई धानको भुस वा काठको धुलो लिटरको रुपमा व्यवस्था गरेर कुखुरा पाले जस्तै पाल्नु पर्छ । यसका लागि ४० फिट चौडा, ३०० फिट लामो, घर राम्रो हुन्छ । पाँच फिट अग्लो जाली लगाएर छाना हाल्नु पर्छ । भालेलाई पाँच वर्ग फिट र पोथीलाई चार वर्ग फिट ठाउँ चाहिन्छ ।

लामा दिनमा टर्कीको विकास छिटो हुन्छ तर दिन छोटो भएपनि तापक्रम ६५ ड्ढ फारेन हाईट र दिन ११ घण्टा वा त्यो भन्दा वढीको छ भने पनि तिनीहरु छिटै वयस्क हुन्छन् । धेरै फुल उत्पादन गर्नको लागि पोथीलाई १८–२२ हप्ताको उमेरवाट अध्यारोमा राख्नुपर्छ । अध्यारोमा राख्दा १८–२० हप्ता उमेरमा ८ घण्टा प्रकाश तथा १६ घण्टा अध्यारो र २०–२२ हप्ता उमेरमा ६ घण्टा प्रकाश तथा १८ अध्यारोामा राख्नु पर्छ । यदि अध्यारोमा राख्न ढिला भयो भने २२ हप्ताको उमेरमा ४ घण्टा प्रकाश दिने र २० घण्टा अध्यारोमा राख्नु पर्छ । अध्यारोमा राखेको समयमा राम्रो हेरचाह पु¥याउनु पर्छ ।
रोगहरु :

कुखुरालाई जस्तै टर्कीलाई पनि कुखुरामा लाग्ने रोगहरु लाग्दछन् । तर कालो टाउको र टाउको सुन्निने रोग यसका प्रमुख रोगहरु हुन् । कक्सी, किर्ना, जुम्रा पनि यसलाई लाग्ने गर्दछन् ।

खोप :

फूल पार्ने कुखुरालाई दिने जस्तै खोप, रानी खेत, गम्वारो, फवल पक्स, फवल टाईफाईड आदि खोपहरु समयमै दिनु पर्दछ ।

प्रो. डा. मोहनप्रसाद शर्मा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?