कुखुरापालक किसान समस्यामा

रानीखेत रोगले मर्न थाले कुखुरा

तनहुँ:तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन् । उनीहरुले फार्मका प्रति‘अण्डा’ रु ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन् । उत्पादन गर्दा रु १३.८१ लागत पर्ने र बजारमा रु ८.२१ मा बिक्री गर्नुपर्दा व्यवसायी चर्को मर्कामा परेका हुन् ।

व्यास नगरपालिका–११ बेल्टारीस्थित खड्का पोल्ट्री फार्मका सञ्चालक राजु खड्काले २१ रोपनी क्षेत्रफलमा २० हजार लेर्यस जातका कुखुरा पाल्दै आउनुभएको छ । करिब रु सात करोड लगानी गरी व्यवसाय थाल्नुभएका उहाँले करिब दश हजार कुखुरा मरेको र १० हजारमध्ये आठ हजार पाँच सय कुखुराले अण्डा दिन थालेको तनहुँ अण्डा उत्पादक सङ्घका उपाध्यक्षसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो ।

दैनिक आठ हजार पाँच सय कुखुराले अण्डा दिँदा प्रतिअण्डा रु ५.६० का दरले अहिले दैनिक रु ४७ हजार छ सय घाटा बेहोर्नुपरेको उहाँले दुखेसो पोख्नुभयो । विसं २०७९ असारदेखि हालसम्म रु एक करोड ९७ लाख घाटा भइसकेको छ । उहाँले भन्नुभयो, “विचौलियका कारण कृषकले उचित मूल्य नपाएको र उपभोक्ताले पनि सस्तो मूल्यमा उपभोग गर्नबाट बञ्चित भएका छन् ।”

सरकारले उत्पादन लागतका आधारमा मूल्य कायम गर्नुपर्नेमा पशुपालन व्यवसायीको माग रहेको छ । दाना चोकरको मूल्य आकासिएको र कृषकले उत्पादन गरेका वस्तुको मूल्य यथावत नै हुँदा व्यवसायी चर्को मारमा परेको व्यवसायीको गुनासो छ ।

भानु नगरपालिका–६ स्थित नविकन पोल्ट्री फार्मका सञ्चालक नरेन्द्रबहादुर चन्दले व्यवसाय घाटामा चलाउनुपर्दा कामदारलाई तलब, बैंक किस्ता र गाडीको किस्तासमेत तिर्न नसकिएको बताउनुभयो । उहाँको फार्ममा अहिले तीन हजार कुखुरा रहेकामध्ये दुई हजार छ सयले अण्डा दिइरहेका छन् ।

अनुदान सुकिलामुकिला र पहुँचवालाले मात्रै पाउने गरेको आरोप लगाउँदै सरकारले कृषकलाई चल्ला, अण्डा र दानामा अनुदान दिनुपर्ने उहाँले बताउनुभयो । व्यास –११ स्थित सेरामा आचार्य गाई फार्म सञ्चालन गर्दै आउनुभएका रमेश आचार्यले सरकारले दूधमा प्रतिलिटर रु ६५ निर्धारण गरे पनि कृषकले रु नौ घाटा खाएर प्रतिलिटर रु ५६ मा बिक्री गर्नुपरेको बताउनुभयो ।

जिल्लामा स्थानीय, उन्नत र लेर्यस गरी करिब रु साढे दुई करोड बराबरको अण्डा रहेको बताइएको छ । जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष ४८ अण्डा आवश्यकपर्ने भए पनि उत्पादन प्रतिव्यक्ति प्रतिवर्ष ८४ वटा पुगेको छ ।

तनहुँमा दुई सय ५५ पशुपालन फार्म दर्ता भए पनि व्यावसायिक कुखुरा फार्म करिब ४० रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा अण्डा, दूध र बङ्गुरको मासुमा आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यात गर्न सफल हुँदै आएको छ । कृषकको लागत मूल्यअनुरुपको बजार मूल्य नपाउँदा बिक्रीवितरणमा न्यून आएको उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?