जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे

बलेवा: तीस वर्षअघि चैते दसैँ मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो । चार÷पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उहाँ भरियाका साथ मेलामा आउनुहुन्थ्यो ।

भरिया खोज्ने, भारी बनाउने, बाटोमा खाने बस्ने व्यवस्था गर्दा उहाँलाई महिना दिन लाग्थ्यो । बागलुङ कालिका मन्दिर परिसरमा लाग्ने चैते दसैँ मेलामा उहाँले बुनेका चोयाका सामग्रीको खुब खोजी हुन्थ्यो । भारीसहित आएका उहाँलाई भेट्न व्यापारी बजारभन्दा पाँच÷सात किलोमिटर पश्चिम काठेखोला नै पुग्थे । आधाउधी डाला÷नाङ्ला त बाटैमा बिक्थे । मेलामा पु¥याउन नपाउँदै उहाँको व्यापार सकिन्थ्यो । “उ बेला बाटोमै पुगेका व्यापारीलाई डाला÷नाङ्ला दिएर नाम्लो फुकाए पुग्थ्यो”, बुढाथोकीले पुराना दिन सम्झिँदै भन्नुहुन्छ, “मेलामा लुछाचुँडी हुन्थ्यो, निगालोका डाला÷नाङ्लाले पनि राम्रै मूल्य पाउँथ्यो ।”

वर्षभरि निगालोका डाला, नाङ्ला, डोका र भकारी बुनेर बुढाथोकीले वर्षभरिको खर्च पु¥याउनुहुन्थ्यो मेलाबाट । “तीन भाइ छोरा र एक छोरीको लालनपालन गर्ने खर्च पु¥याएर केही बचाउँथे र पो चैते दसैँ आएजस्तो लाग्थ्यो”, उहाँ भन्नुहुन्छ । उहाँ जस्तै आफ्नै श्रमले गुजारा गर्ने गाउँमा धेरै थिए । व्यापार गर्ने थलो थियो चैते दसैँ मेला ।

बुढाथोकी चैते दसैँ मेलामा डाला÷नाङ्ला बोकेर आउन छोड्नुभएको भने छैन । पहिलेको जस्तो चोयाका सामग्रीको खोजी मेलामा हुँदैन । पहिलेको जस्तो मूल्य पनि पाइँदैन । छैसठ्ठी वर्षको उमेरमा पनि उहाँले वर्षभरि निगालोसँग कुस्ती खेल्दै जीवन चलाउनुभएको छ ।

अहिले पहिले जस्तो मेलामा आउँदा उहाँलाई भरिया खोज्नु पर्दैन । दैलोबाटै सवारीमा डाला÷नाङ्ला चढाएर मेलामा आउँदा सुविधा त भएको छ तर परिश्रमको मूल्य उठ्दैन् । “घरबाट यहाँसम्म आउँदा सामानको एक हजार, मान्छेको एक जनाको एक हजार तीन सय, बजारमा खानबस्न लाग्ने खर्चको कुरै नगरौँ”, बुढाथोकी भन्नुहुन्छ, “हस्तकलाको सम्मान हुन छोड्यो, प्लाष्टिकका सामग्रीले हामीलाई चौपट बनायो ।” व्यापार राम्रो नभए पनि परम्परा धान्नकै लागि उहाँ मेलामा आउने गर्नुहुन्छ ।

बुढाथोकीसँगै जलजलाका केही युवाले पनि मेलामा डाला÷नाङ्ला ल्याएका छन् । तर, उनीहरू पनि सन्तुष्ट छैनन् । तीस वर्ष पहिले ३० रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा बिक्री हुने डाला÷नाङ्लालाई अहिले रु चार सयदेखि एक हजार पर्छ । परिश्रमको मूल्य भने नउठ्ने जलजलाका डाला÷नाङ्ला व्यवसायी खगेन्द्र विक बताउनुहुन्छ । “विदेशमा दुःख गर्नुभन्दा हस्तकलाको उपयोग गरौँ भन्ने लाग्छ, मूल्य नपाउँदा पलायन हुन मन लाग्ने”, विकले भन्नुभयोे, “न हाम्रो सीपको कतैबाट संरक्षण छ, न बनेका बस्तुको बजार ।” यसपटकको चैते दसैँ मेलाका लागि बागलुङ कालिका मन्दिर परिसर आइपुग्नुभएका उहाँहरू मेलास्थलको एक छेउमा बस्नुभएको छ ।

खुल्ला आकाशमुनि डाला÷नाङ्ला लिएर बस्नुभएका उहाँहरूले छाप्रो पाउनुभएन् । “बिक्री होला–नहोला डाला÷नाङ्लामा सीपको प्रदर्शन गरेर भए पनि जान्छौँ तर हाम्रो जिल्लामा अन्यत्र जस्तो सम्मान छैन”, विक भन्नुहुन्छ ।

डाला÷नाङ्लाको मात्रै होइन चैते दसैँ मेलाको विषेशतामा पर्ने स्थानीय उत्पादन ठेकाको व्यवसाय पनि चौपट छ । मेलास्थलमै रहेका बागलुङको बलेवाका टीका चुँदारा पुराना दिन सम्झनै चाहनुहुन्न । अमलाचौरका चुँदारा समुदायको मुख्य पेशा ठेका बनाउने कामबाट सीप भएका पनि पलायन हुने अवस्था आएको उहाँ बताउनुहुन्छ । “विसं २०५२ देखि चैते दसैँमा ठेका लिएर बस्दै आएको छु, तर पहिले जस्तो ठेकाको व्यापार छैन”, चुँदारा भन्नुहुन्छ, “मेरै अघि प्लास्टिक र स्टिलका ठेका हल्लाउँदै जान्छन्, सस्तो उतै पर्छ ।”

राज्यका निकायले स्थानीय सीप र साधनको प्रयोगमा ध्यान नदिएको गुनासो उहाँले गर्नुभयो । चुँदाराले रु एक हजारदेखि १८ हजारसम्मका दरका ठेका बिक्रीका लागि राख्नुभएको छ । मेलामा फलामका भाँडा, नेपाली कागजलगायतका स्थानीय उत्पादनको कम खोजी हुन थालेको व्यवसायी बताउँछन् । यो वर्षको मेला आयोजना गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिले स्थानीय उत्पादनलाई प्राथमिकता दिने भनेको छ । पहिले जस्तो मेलामा स्थानीय उत्पादन आउनै छाडेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?