संस्थानले धानको मूल्य बढाउँदा किसानलाई राहत

नेपालगन्ज– नेपाल खाद्य संस्थानले धान खरिद सुरु गरेपछि राँझाका रसुल अहमदको अनुहारमा केही चमक आएको छ। नेपालगन्जका ब्यापारीलाई सस्तो मुल्यमा बिक्री गर्न तयार भएका उनी संस्थानले खरिद गर्न थालेपछि उनी खुसी छन्। बजारको भन्दा महंगो मुल्य लगाएपछि उनले आफ्नो धान संस्थानको कारकाँदोस्थित धान खरिद केन्द्रमा लगिसकेका छन्। आफुले उत्पादन गरेको मध्ये घरमा केही बचाएर ६६ बोरा धान संस्थानलाई बिक्री ल्याएको खरिद केन्द्रमा भेटिएका बृद्ध रसुलले मंगलबार बताए।

संस्थानले अहिले किसानसँग मोटा धान प्रति क्वीन्टल २ हजार ३ सय ३१ र मध्यम धान २ हजार ४ सय ६० रूपैयाँमा खरिद गरिरहेको छ। संस्थानले गत वर्षको तुलनामा यसवर्ष किसानलाई राहत हुने गरी मूल्य बढाएको छ। गत वर्ष २०७४÷७५ मा संस्थानले प्रति क्वीन्टल २ हजार ३० रूपैयाँका दरले मोटा धान मात्र खरिद गरेको थियो। संस्थानले २० हजार क्वीन्टल खरिद गर्ने लक्ष्य लिएकोमा १३ हजार १ सय ८.३४ क्वीन्टल मात्र खरिद गरेको थियो।

यस्तै २०७३÷७४ मा मोटा धान प्रति क्वीन्टल २ हजार ५० र मध्यम धान २१ सय ५० रूपैयाँमा खरिद गरेको थियो। संस्थानले यसवर्ष २५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। संस्थानले यसवर्ष बजारको मुल्यभन्दा क्वीन्टलमा ३ सयदेखि ४ सय रूपैयाँ बढी मूल्य लगाएको किसानले बताएका छन्। किसानका अनुसार बजारमा ब्यापारीले मोटा धान प्रति क्वीन्टल १८ सयदेखि १९ तथा मध्यम धान १९ सयदेखी २१ सय रूपैयाँमा खरिद गर्ने गरेका थिए।

किसानको मेहेनत अनुसार धानको मूल्य अझै कम भएपनि बजारको भन्दा महंगो मुल्य पाउँदा राहत मिलेको रसुलले बताए। ‘धान रोप्दा धेरै मेहेनत गनुपर्छ, तर विक्री मुल्य जहिलेपनि सस्तो हुन्छ’, उनले भने ‘खाद्य संस्थानले पोहोर सालको भन्दा मुल्य बढाएको रहेछ, बजारको भन्दा संस्थानको मुल्य महंगो छ, यसले हामीलाई थोरै भएपनि राहत मिलेको छ।’ जिल्लाका अधिकांश किसानसले एक महिनाअघि नै धान भित्र्याईसकेका थिए। चाडपर्व मनाउने समस्याले गर्दा अधिकांश किसानले बजारमा ब्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भए।

संस्थानले समयमै धान खरिद गरेको भए धेरै किसानले सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता नहुने नेपालगन्ज–१० निवासी किसान भरतकुमार यादव बताउँछन्। ‘खाद्य संस्थानले ढिलै भएपनि बजारको भन्दा ठिकै मुल्य निर्धारण गरेको छ, तर यो अलिकति ढिला भयो,’ उनले भने ‘तिहार अगाडी नै खरिद गरेको भए धेरै किसानले राहत पाउँथे होला।’ संस्थानले हरेक वर्ष धान खरिदमा ढिलाई गर्ने गरेका कारण किसानले आत्तिएर सस्तो मूल्यमा बिक्री गर्ने गरेको उनको भनाई छ।

संस्थानले यसवर्ष मंसिर १० गतेदेखी धान खरिद गरिरहेको छ। धान बिक्री गर्न विगतको जस्तो किसानहरुको ठुलो संख्यामा उपस्थिती छैन। खरिद केन्द्रमा ब्यवस्थापकिय कमजोरी रहेका कारण किसानहरु एकैदिन धान बिक्री गरेर फर्किन समस्या भइरहेको यादवले सुनाए। धानको पल्लेदारी खर्च संस्थान आफैले बेहोर्ने गरेको छ।

टोकन प्रणाली अनुसार हरेक दिन बिहान १० देखी ५ बजेसम्म धान खरिद गरिन्छ। धान विक्री गर्न आउने किसानले अनिवार्य रुपमा आफ्नो नागरिकताको फोटोकपी बुझाउनुपर्ने ब्यवस्था रहेको संस्थान नेपालगन्जका प्रमुख हरिप्रसाद जोशीले बताए। संस्थानको लक्ष्य पुरा नहुँदा सम्म धान खरिदको काम चलिरहने उनले प्रष्ट्याए। ‘यसवर्ष २५ हजार क्वीन्टल धान खरिद गर्ने अहिले सम्मको लक्ष्य छ, अन्तिम अवस्थामा लक्ष्य बढ्न पनि सक्छ,’ जोशीले भने ‘गतवर्षको भन्दा यसवर्ष बढेको मुल्यमा धेरै अन्तर आउँदा किसानले राहत महसुस गर्नु भएको छ।’ संस्थानले नेपालगन्जको खरिद केन्द्रबाट सोमबारसम्म २ हजार ९ सय क्वीन्टल धान खरिद गरिसकेको उनले जानकारी दिए।नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?