दूध बिक्री नभएपछि किसान चिन्तित

लहान, उन्नत जातको गाईपालन गरेर राम्रो आम्दानी गर्ने सुरमा रहेका ग्रामीण किसान उत्पादित दूधले बजार नपाउँदा चिन्तित छन् । साउनदेखि पुससम्म दूध बिक्रीमा समस्या हुने भगवानपुरका किसानको पीडा छ । व्यावसायिक रूपमा दूध उत्पादन गरेर आत्मनिर्भर हुन छ जना मिलेर उन्नत जातका १६ वटा गाई पालेर राम्रो आम्दानी गर्ने सुरमा रहेका भगवानपुर २ का विश्वम्भर यादव स्थानीय गुरुकुल डेरीले दूध लिन नमामनेपछि समस्यामा परेको बताउनुभयो । उहाँले उत्पादित दूध बिक्री हुन नसकेपछि यतिबेला यस भेगका कषक ठूलो मारमा परिरहेको पीडा सुनाउनुभयो ।

अर्का कृषक भुवन यादवले उन्नत जातको एउटा जर्सी गाईले १४ लिटरसम्म दूध दिने गरेको भन्दै उत्पादित दूधको उचित मूल्य र बजार व्यवस्थापन मात्रै भइदिए यस भेगका युवा वैदेशिक रोजगारमा जान छोडेर पशुपालनतर्फ लाग्ने र राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । लहान, राजविराज र सिरहालगायतका डेरीमा भारतीय बजारबाट प्याकेटको दूध ल्याएर दहीलगायतका सामग्री उत्पादन हुने गरेको तर किसानको दूध लिन नमानेको बताउनुभयो । यसमा सम्बन्धित निकायले अनुगमन नगगरेको गुनासो पनि कृषकहरूले गरिरहेको उहाँले बताउनुभयो ।

भगवानपुरमा रहेको गोकुल डेरीका सञ्चालक कामेश्वर यादवले साउनदेखि पुससम्म दहीको खपत ज्यादै कम हुने गरेकाले दूध लिन समस्या भएको बताउनुभयो तर फागुनदेखि जेठसम्म दहीको बिक्री प्रर्याप्त हुनथालेपछि जति पनि दूध लिने गरेको उहाँले बताउनुभयो । लहान राजविराज र जनकपुरका ठूला डेरीले यताको दूध नलिनु विडम्बना भएको उहाँको गुनासो रहेको छ ।

भगवानपुर गाउँपालिकामा हरेक घरमा एउटा भैँसी वा गाई रहेको छ । त्यस गाउँपालिकामा दैनिक चार सय लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादित दूध साउनदेखि पुससम्म डेरीले लिन नमानेपछि उत्पादित दूधको बिक्री गर्न दूध चिस्याउने चिलिङ्ग मेसिनका लागि प्रदेश सरकारसँग आग्रह र माग गरिएको गाउँपालिका अध्यक्ष वेचनप्रसाद यादवले बताउनुभयो ।
दूध र धान उत्पादनका लागि भगवानपुर गाउँपालिकालाई पकेट क्षेत्र बनाएर अघि बढाउने योजना गाउँपरिषद्मा विपक्षीहरूले तगारो खडा गरिदिएपछि कृषकलाई समस्या भएको दाबी उहाँले गर्नुभयो ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?