अझै पनि टुकीकै भरमा उज्यालो

टुकी बालेर

गलकोट:विद्युत् तथा नवीकरणीय ऊर्जाको पहुँच नपुगेका बागलुङका दुगर्म स्थानका केही घरमा उज्यालोका लागि टुकीकै भर छ । सरकारले आयातीत इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत् खपत वृद्धि गर्ने लक्ष्य लिए पनि जिल्लाका कतिपय घरमा अझै उज्यालोका लागि टुकीको नै भर पर्नुपर्ने बाध्यता रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बागलुङमा दुई सय १४ परिवार उज्यालोका लागि टुकीकै भर परेको तथ्याङ्क कार्यालयले जनाएको छ । जिल्लाको दुर्गम स्थानमा अझै केन्द्रीय विद्युत् मात्रै होइन स्थानीय विद्युत्समेत पुग्न नसक्दा उज्यालोको सहारा टुकी रहेको पाइएको छ । हालै सार्वजनिक गरिएको जिल्लाको तथ्याङ्कअनुसार उज्यालोका लागि टुकीको प्रयोग गर्ने सो सङ्ख्याका परिवार रहेको तथ्याङ्क कार्यालयका प्रमुख चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार जिल्लामा धमाधम विद्युतीकरण भए पनि अझै उज्यालोका लागि टुकीकै भर पर्ने परिवारसमेत रहेको पाइएको छ । जनगणनाका क्रममा उज्यालोका लागि प्रयोग गर्ने इन्धनमा नखुलेका चार सय २३ परिवारले समेत गुइँठासहित अन्य घरेलु इन्धनको प्रयोग गर्ने गरेको पाइएको छ ।

उहाँका अनुसार जिल्लामा चार सय २३ परिवार बिजुली, सोलार, बायोग्यास र मट्टितेलको पहुँचभन्दा समेत टाढा छन् । उहाँले भन्नुभयो, “उनीहरुले कुनै इन्धन नै प्रयोग नगरेको गणकहरुलाई बताएका छन्, उनीहरु स्थानीय इन्धनको प्रयोग गर्ने र अन्धकारमा बस्ने हुन सक्छन् ।”

अहिलेको जनगणनाअनुसार जिल्लाभर ६४ हजार ९६ परिवारको बासोबास छ । त्यसमध्ये ६२ हजार दुई सय २८ परिवारमा बिजुलीको पहुँच छ भने एक हजार दुई सय २० परिवारले सौर्य ऊर्जाको प्रयोग गर्दै आएका छन् । जिल्लाभर जम्मा ११ परिवार बायोग्यासको सहारामा उज्यालो उपभोग गरिरहेको तथ्याङ्क रहेको छ । जिल्लाको दुर्गम क्षेत्रमा अहिले पनि विद्युत्को सर्वसुलभ पहुँच छैन् । स्थानीय खोलाको विद्युत्ले जिल्लाको पश्चिम भेग उज्यालो भए पनि विकट गाउँका टोलमा विद्युत्को पहुँच पुग्न नसकेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा विद्युतीकरण विस्तार गर्न थालिएको छ । उहाँले स्थानीय विद्युत्को समेत पहँुँच नपुगेको गलकोटको रमुवा, निसीखोलाको निशेलढोर, बडिगाडको सिसाखानी तथा तमानखोलाको नर्जा र खुङ्खानीका केही पातलो बस्ती रहेको बताउनुभयो ।

विद्युत् प्राधिकरणले जिल्लाका सबै स्थानमा विद्युत् पु¥याउनका लागि काम गरिरहेको र जिल्लाका १० पालिकामध्ये निसीखोला र तमानखोलामा बल्ल केन्द्रीय प्रशासरण लाइन विस्तारको काम थालिएको मरासिनीको भनाइ छ । यस्तै, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाका केही वडामा केन्द्रीय विद्युत् पुग्न सकेको छैन ।

स्थानीय खोलाबाट उत्पादन गरिएका लघु जलविद्युत् आयोजनाबाट ती पालिकामा विद्युतीकरण गरिएको भए पनि छरिएको बस्तीमा विद्युत् पुग्न नसकेको प्राधिकरणले जनाएको छ । सरकारले आगामी दुई वर्षभित्र शत्प्रतिशत जनसङ्ख्या विद्युत्को पहुँचमा पु¥याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेटिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?