कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ

कर्णाली: असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन ।

हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ । छिटो तथा सिँचाइ कुलोबाट गरिने भएकाले डोल्पामा शतप्रतिशत रोपाइँ भएको छ । कूल नौ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा धान रोपाइँ हुने दुई सय ७६ हेक्टरमा शतप्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

जुम्लामा दुई हजार नौ सय ५० हेक्टर जमिनमा धानखेती हुँदै आएकामा हालसम्म दुई हजार छ सय ५५ (९० प्रतिशत) हेक्टर जमीनमा रोपाइँ भएको निर्देशक रोकायले बताउनुभयो । जुम्लामा कूल खेतीयोग्य जमिन ३९ हजार चार सय ८६ हेक्टर रहेको छ । हुम्लाको कूल १२ हजार छ सय ५४ हेक्टर खेतीयोग्य जमिनमा एक हजार दुई सय ८४ हेक्टरमा रोपाइँ हुँदै आएकामा अहिलेसम्म आठ सय ३४ हेक्टर (६५ प्रतिशत) जमीनमा रोपाइँ भएको जनाइएको छ ।

मुगुको कूल १६ हजार एक सय ३५ हेक्टर जमिनमा नौ सय हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा यही असार १५ गतेसम्म चार सय ७९ (५२ प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको छ । कालीकोटमा कूल खेतीयोग्य ३९ हजार नौ सय २१ हेक्टर जमिन छ । तीन हजार १९ हेक्टर जमिनमा रोपाइँ हुँदै आएकामा यस वर्ष असार १७ गतेसम्म एक हजार आठ सय ११ (३६ प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको छ ।

त्यसैगरी जाजरकोटको कूल खेतीयोग्य २५ हजार तीन सय ८४ मध्ये धान रोपाइँ हुने तीन हजार ६५ हेक्टर जमिनमा एक हजार सात सय १६ (५६ प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको छ । सल्यानमा कूल खेतीयोग्य जमिन ७९ हजार ५७ हेक्टर छ । त्यसमा सात हजार ७२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनुपर्नेमा असार १७ गतेसम्म तीन हजार आठ सय ८९ (५५ प्रतिशत) रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुकुमपश्चिमको कूल खेतीयोग्य जमिन २३ हजार एक सय ७२ मा धान रोपाइँ हुने तीन हजार ४८ हेक्टर क्षेत्रफल जमिन छ । त्यसमा हिजोसम्म एक हजार तीन सय ११ (४३ प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको छ । सुर्खेतको १५ हजार दुई ४० हेक्टर धान रोपाइँ हुने जमिनमा पाँच हजार तीन सय ३४ (३५ प्रतिशत) हेक्टर जमिनमा धान रोपाइँ भएको उहाँले बताउनुभयो । सुर्खेतको कूल खेतीयोग्य जमिन ५५ हजार दुई सय हेक्टर रहेको छ ।

कर्णाली प्रदेशको सबैभन्दा कम रोपाइँ दैलेखमा भएको निर्देशनालयले जनाएको छ । दैलेखमा असार १७ गतेसम्म मात्र २५ प्रतिशत रोपाइँ भएको छ । कूल खेतीयोग्य ४३ हजार एक सय २१ हेक्टर क्षेत्रफल भएको दैलेखमा आठ हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुन्छ । आइतबारसम्म दुई हजार एक सय २८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको जनाइएको छ ।

निर्देशक रोकायका अनुसार डोल्पामा थोरै खेतीयोग्य जमिन र त्यसमा धान रोपाइँ हुने क्षेत्रफल नै कमी भएकाले शतप्रतिशत रोपाइँ भएको तर दैलेखका कतिपय ठाउँमा मूल फुटेपछि मात्र रोपाइँ हुने भएकाले कम प्रतिशत देखिएको हो । असार मसान्तसम्म सम्भवतः कर्णालीमा ६० प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?