सामुदायिक वनमा अतिस र खिरौला खेती

गलेश्वर:म्याग्दीको उच्च लेकाली क्षेत्र गुर्जाको सामुदायिक वनमा अतिस र खिरौला जातको जडीबुटी खेती सुरु गरिएको छ ।

सामुदायिक वनको १० रोपनी जमिनमा पहिलो पटक परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि अहिले एक लाख ३५ हजार अतिस र खिरौला जातका बिरुवा रोपेर खेती विस्तार गरिएको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङका अध्यक्ष तुलसी छन्त्यालले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयको सहयोगमा समूहमा आवद्ध २५ जनाले सामूहिक रूपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर बिरुवा रोपेको उहाँले बताउनुभयो ।

जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुङ्गाको एक सय पाँच मिटर लामो पर्खाल निर्माण गरिएको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले चालु आर्थिक वर्ष २०७९÷८० मा जडीबुटी खेतीका लागि रु चार लाख असी हजार सहयोग गरेको बताउनुभयो ।

“उपभोक्ताले कूल लागतको दश प्रतिशत लागत साझेदारी गरेका छन्”, उहाँले भन्नुभयो– “प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत सहयोग गरिएको हो ।” यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेती विस्तार भएको हो ।“यसअघि गरिएको खेती सफल भयो । यहाँको भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ” उहाँले भन्नुभयो “बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।”

विसं २०७७ मा सात हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपेका थिए । २०७८ सालमा हिमाली कृषि सहकारी संस्थामा आवद्ध किसानले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।

धौलागिरी गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बाँझिएको खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयवासीको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको बताउनुभयो । समुद्री सतहदेखि तीन हजार दुई सयदेखि तीन हजार सात सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेकोलगायत समस्या समाधानका लागि प्रयोग हुन्छ ।

यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाई, उत्तेजना नहुने, जुकाजस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्दतिको रुपमा अतिस प्रयोग हुन्छ । गुर्जा म्याग्दी जिल्लाकै सबैभन्दा दुर्गम ठाउँ हो । यहाँ अहिलेसम्म सडक सञ्जालले छोएको छैन । यो धवलागिरि–१ मा पर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?