लम्पी स्किनविरुद्ध पशुमा खोप लगाइँदै

कञ्चनपुरमा पहिलोपटक पशुमा लम्पी स्किन रोग देखापर्‍यो

कास्की: पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ । महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकामा असार अन्तिम सातादेखि पशुमा खोप लगाउन सुरु गरिएको हो ।

पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा सबै पालिकामा गरी हालसम्म १२ हजार आठ सय ५० गाई, भैँसी र गोरुलाई लम्पी स्किनको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ ।

केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले सुरुआतमा बजेट अभावमा खोप खरिद गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य रोगको खोप कार्यक्रम सञ्चालन भए पनि लम्पीका लागि बजेट र खोपको व्यवस्था थिएन । असारको अन्तिम साता आएर बल्ल बजेट व्यवस्था भए पनि खोप खरीद गरेर खोप कार्यक्रम सुरु गरेका हौँ ।”

महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैँले खोप किनेर समेत पशुमा लगाएका थिए । प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोपका लागि रु १० लाख बजेट जिल्लास्थित भेटेरिनरी अस्पतालमा पठाएको थियो । जिल्लामा हालसम्म १३ हजार तीन सय सात गाई गोरु र तीन सय ३१ भैँसी पशु लम्पी स्किनबाट सङ्क्रमित भएकामा चार सय २९ को गाई गोरुको मृत्यु भएको छ ।

भैँसी भने सङ्क्रमबाट मरेका छैनन् । पोखरा महानगरपालिकामा सबैभन्दा बढी पशु सङ्क्रमित छन् । पोखरामा १० हजार दुई सय ४२ गाई गोरु र दुई सय ७१ भैँसी सङ्क्रमित भएको केन्द्रका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिनुभयो ।

माछापुच्छ«े गाउँपालिकामा एक सय ५० गाई गोरु र १२ भैँसी, अन्नपूर्णमा गाई दुई सय १९ र भैँसी सात, रुपामा एक हजार सात सय ८२ गाई र गोरु तथा एक भैँसी र मादीमा नौ सय १४ गाई र ४७ भैँसी लम्पीबाट सङ्क्रमित भएको कार्यालयले जनाएको छ ।

हालसम्म पोखरा महानगरमा छ हजार पाँच सय, माछापुच्छ«ेमा तीन हजार छ सय, अन्नपूर्णमा एक हजार चार सय ५० र रुपामा एक हजार तीन सय गाई, भैँसीमा खोप लगाइएको पौडेलले बताउनुभयो । लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकको भनाइ छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ ।

रोगबाट सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुनसक्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?