अनुदानको कागती बिरुवामा फल्यो बिमिरो

इलाम : इलाम नगरपालिका वडा ४ ले अनुदानमा बाँडेको कागतीको बिरुवामा बिमिरो (अमिलो जातको अर्कै फल) फलेको छ। सुनकागती भनेर वडाले बाँडेको बिरुवामा बिमिरो फलेको किसानले गुनासो गरेका छन्।

आर्थिक वर्ष २०७६/०७७ मा वडाले किसानलाई बाँडेका बिरुवामा अहिले फल लागेको हो। कागती भनेर स्याहार गरी हुर्काएका बिरुवामा बिमिरो फलेपछि किसान खिन्न भएका छन्।स्थानीय किसान ताराप्रसाद पोख्रेलले उन्नत जातको सुनकागती भनेर वडाबाट अनुदान ल्याएका बिरुवामा बिमिरो फल्दा आश्चर्यचकित भएको बताए। ‘राम्रो जातको कागती भनेर वडाबाट १० बिरुवा अनुदानमा पाएँ, थप २० बिरुवा त्यही नर्सरीबाट आफैं किनेर ल्याएको थिएँ,’ उनले भने, ‘तर, अहिले चिचिला लाग्दा त बिमिरो पो फल्यो।’ 

पोख्रेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको यो तथ्यमा स्थानीय किसानले आफूहरूले पनि वडाबाट अनुदानमा पाएको कागतीको बोटमा बिमिरोकै फल लागेको टिप्पणी गरिरहेका छन्। स्थानीय खिबराज मगरले आफ्नो बारीमा पनि कागती भनेर रोपेका बिरुवामा बिमिरो फलेको गुनासो गरेका छन्। अर्का किसान मोनु राईले आफूले लगेको बिरुवामा पनि त्यस्तै फल लागेको बताएका छन् भने किसान सन्तोष श्रेष्ठले आफूले रोपेको ५० बोटको अवस्था पनि यस्तै रहनेमा चिन्ता व्यक्त गरेका छन्। 

वडाले स्थानीय पारसमणि काफ्लेबाट केही निःशुल्क लिएर र केही खरिद गरी कागतीका बिरुवा किसानलाई बाँडेको थियो। काफ्ले अहिले यही वडाको जनप्रतिनिधि (सदस्य)समेत छन्। काफ्लेकैबाट खरिद गरेको कागतीमा बिमिरोको फल लागेपछि पाँचथरका एक व्यापारीले गतवर्ष क्षतिपूर्ति दाबीसहित अदालतमा मुद्दासमेत दायर गरेका थिए। मुद्दा अझै विचाराधीन छ। वडाले उनै किसानबाट खरिद गरेका कागतीका बिरुवामा अहिले बिमिरो र अमिलो नै हुने अरू फलसमेत लागेको हो। 

वडाध्यक्ष नुतनदेव दुलालले सुनकागती भनेर बाँडिएका बिरुवामा बिमिरो र अरू अमिलो फल लागेको गुनासो किसानबाट आएको स्वीकारे। बिरुवा बाँडेका बेला पनि वडाध्यक्ष नै रहेका दुलालले केही किसानले बिमिरो फलेको भन्दै आफूलाई उजुरीसमेत दिएको बताए। ‘हामीले त नेपाल सरकारले यो कागती हो भनेर प्रमाणित गरेका बिरुवा नै बाँडेका हौँ,’ उनले भने, ‘बिमिरो कसरी फल्यो भन्नेमा अचम्मै लागेको छ। किसानको गुनासो पनि आएको छ।’ वडाले करिब छ सय किसानलाई सुनकागतीका बिरुवा बाँडेको थियो। वडा सदस्य काफ्लेलाई पटक–पटक फोन गर्दा उठेन। नागरिक दैनिकमा खबर छ ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?