विद्यार्थीलाई सीपमूलक कक्षा

डोको बुनेरै बित्यो जवानी

दमक (झापा): विद्यार्थीलाई व्यावहारिक सीपको अभ्यासका लागि झापाका केही विद्यालयले सीपमूलक पठनपाठन सञ्चालन गरिआएका छन् । ती विद्यालयमध्ये कमल गाउँपालिका–३ स्थित लालीमा अङ्ग्रेजी माध्यमिक विद्यालयले साताको एक दिन सीपमूलक विशेष कक्षा सुरुआत गरेको हो ।

निजी तथा संस्थागत विद्यालयको छाता सङ्गठन प्याव्सनका जिल्ला अध्यक्षसमेत रहेका सो विद्यालयका संस्थापक प्रिन्सिपल गौरीमान फागोका अनुसार साताको हरेक बुधबार विद्यार्थीलाई समूहसमूह बनाएर विभिन्न किसिमका व्यावहारिक सीपबारे ज्ञान दिलाउने उद्देश्यले किताबरहित सीपमूलक विशेष कक्षा सञ्चालन गरिएको छ ।

सो कक्षामा उत्साहपूर्वक सहभागी विद्यार्थीलाई हस्तकलाका सीप सिकाउने व्यवस्था मिलाइएको छ । कक्षा ६ देखि १० सम्मका छात्रले बाँसका चोयाको डोको, पेरुङगो र कुखुरा बोक्न तथा छोप्न उपयोगी हुने (खुँगी) बनाउन सिकिरहेका छन् भने छात्राले टपरी र सिलाइ बुनाइका सीप सिकिरहेका छन् ।

कक्षा छभन्दा मुनिका कक्षाका विद्यार्थीले भने कागज काट्ने तथा माटोका विभिन्न भाँडाकुँडा बनाउने सीप सिकिरहेका छन् । उक्त विद्यालयले ठूला विद्यार्थीका लागि इलेक्ट्रेसियन तथा मोबाइल मर्मतसम्बन्धी सीप पनि सिकाउने लक्ष्य पनि लिएको छ । प्रिन्सिपल फागोले भने “दुई दशक बढी मेरो शैक्षिक क्षेत्रको अनुभवमा पहिलोपटक सीपमूलक विशेष कक्षाको सुरुआत गरी व्यावहारिक शिक्षा दिलाउन सुरुआत गरेका छौँ ।”

उनले काठमाडौँका केही विद्यालयको शैक्षिक पठनपाठनको अभ्यास देखेपछि आफूले पनि आफ्ना विद्यार्थीलाई यहाँको आवश्यकताअनुसारका सीप सिक्न प्रेरित गर्न थालिएको बताए । विद्यार्थीलाई सिकाइने त्यस्ता व्यावहारिक सीप जानेका स्थानीय सिल्पीहरुलाई प्रशिक्षकका रूपमा लिइएको छ ।

व्यावहारिक शिक्षाले परम्परागत घरायसी सामग्रीका बारेमा बालबालिकालाई ज्ञान दिलाउनाका साथै श्रम र सीपको बानी विकासमा समेत मद्दत पु¥याउने भएकाले यस किसिमको कक्षा सञ्चालन गरिएको प्रिन्सिपल फागोले बताए । उनले यस किसिमको शिक्षाले भोलिका लागि रोजगारीको माध्यम बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विसं २०५३ मा स्थापित लालिमा बोर्डिङ स्कूलले कक्षा १० सम्मको पठनपाठन गराउँदै आएको छ । हाल यस विद्यालयमा चार सय ५० विद्यार्थी अध्ययनरत छन् ।

यसैगरी दमक ८ मा रहेको रोजियट बोर्डिङ स्कूलले पनि साप्ताहिकरुपमा विद्यार्थीका लागि सीपमूलक कक्षा सञ्चालन गरिआएको छ । उक्त स्कूलले कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई पढाइका अतिरिक्त विभिन्न किसिमका सीपमूलक कक्षा सञ्चालन गरिआएको प्रिन्सिपल रुद्र दाहालले बताए । उनले वर्षदिनयता यस किसिमको कक्षाले व्यावहारिक ज्ञानतर्फ विद्यार्थीको क्षमता बढ्दै गएको बताए । यस किसिमको कक्षाले विद्यार्थीमा क्षमता अभिवृद्धिमा टेवा पुगेको उनको भनाइ थियो ।

यस्तै दमक ५ मा अवस्थित सर्वोदय अङ्ग्रेजी बोर्डिङ स्कूल, दमक–८ कै झापा मोडल अङ्ग्रेजी बोर्डिङ स्कूलले पनि विद्यार्थीको अन्तरनीहित क्षमता विकासका लागि विभिन्न सीपमूलक अतिरिक्त कक्षा सुरुआत गर्दै आएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले पाठ्यपुस्तकका साथै विद्यार्थीको इच्छाअनुसार विभिन्न सीपमूलक शिक्षाले व्याहारिक मात्र नभएर जीविकोपार्जनका लागि पनि सहयोग पुग्ने बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?