आज यी ठाउँमा चट्याङ हावाहुरी सहित वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं:हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहदै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातीसम्म भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू(भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?