सिंगामा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण

म्याग्दी:म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह निर्माण गरिएको छ ।

कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले शीतभण्डार निर्माण गरेको हो । सिंगामा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ९० लाख विनियोजन गरिएको थियो ।

चिस्यान गृह निर्माणका लागि  एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ लागत अनुमान गरिएकामा राजेशबाबु निर्माण सेवाले एक करोड ५१ लख २० हजार सात सय ३८ मा निर्माण गर्ने गरी २०७९ फागुन तेस्रो साता ठेक्का सम्झौता गरेको थियो । गत असारमा यसका लागि तीन महिना म्याद थपिएको थियो ।

बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुुर खड्का (भगवान) ले चिस्यान गृह निर्माण र उपकरण जडानको काम सकिएको जानकारी दिए । “चिस्यान गृहको पूर्वाधार निर्माण र उपकरण जडान गरेर परीक्षण थालिएको छ”, उनले भने, “परीक्षण सफल र हस्तान्तरण भएपछि चिस्यान गृह सञ्चालन गर्ने तयारी गरेका छौँ ।”

सो चिस्यान गृहको क्षमता तीन सय मेट्रिकटन रहेको छ । नगरपालिका र म्याग्दीका अन्य पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर सहयोगी बन्ने अपेक्षा गरिएको छ ।

तीन वर्षअघि बेनी नगरपालिकालाई चिस्यान गृह बनाउन सङ्घीय सरकारबाट बजेट विनियोजन भए पनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन । चिस्यान गृह बनेपछि सुन्तला, आलुलगायत कृषि उपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पाउन सकिने कृषकको अपेक्षा छ ।

यसैगरी रघुगङ्गा गाउँपालिका–५ झिँमा २० मेट्रिकटन र वडा नम्बर २स्थित भगवतीमा २५ मेट्रिकटन क्षमताको चिस्यान गृह निर्माण भएको छ । झिँमा  २१ लाख ७८ हजारको लागतमा चिस्यान गृह निर्माण भएको गाउँपालिकाका इन्जिनियर सुदीप गौतमले जानकारी दिए ।

भगवतीको चिस्यान गृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले करबाहेक रु ७९ लाख ७० हजार ८४ मा ठेक्का सम्झौता गरेको थियो । दुुई वटै चिस्यान गृह प्रयोगमा भने आएका छैनन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा बेनी नगरपालिका–९ बियाडामा पाँच हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको छ । यसअघि गत वर्ष अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यानगृह निर्माण भएको थियो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments