खाद्यले बेच्यो कुहिएको चामल

सिमकोट:खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले उपभोक्तालाई कुहिएको चामल ब्रिकी गरेको पाइएको छ ।

खाद्यले नाम्खा गाउँपालिका–५ मुचु गाउँका स्थानीयलाई बिक्री गरेको चामल कुहिएको पाइएको हो । उक्त चामल केही दिनअघि खाद्यले सप्लायर्समार्फत काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बतको बाटोबाट हिल्सासम्म ढुवानी गराएको थियो ।

नाम्खा गाउँपालिका–५ की पेमा आङ्मु तामाङले आफूले खरिद गरेर ल्याएको चामल कुहिएको जानकारी गराइन्। उक्त चामल एक घरधुरीलाई चार बोराको दरले बिक्री गरिएको थियो। चार बोरामध्ये दुई बोरा कुहिएको तामाङले बताइन् ।

उनले आफ्नो मात्र नभई अधिकांश खाद्यान्न पाएका घरपरिवार कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताए ।

२५ किलोको बोरा चामलको मूल्य दुई हजार ३७५ रुपैयाँमा किनेको र घरमा चामल बोरा खोल्दा कुहिएको पाइएको जङ्ग लामाले बताए । पैसा तिरीसकेका छौँ, चामल कुहिएर डल्ला परेको भेटिएको छ उनको गुनासो छ ।

५० घरधुरीका नागरिकले चामल बिक्री गरिएकोमा अधिकांश बोरा कुहिएको भेटिएको स्थानीयवासीको गुनासो रहेको छ । मुचु गाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ । घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्नेखालको रहेको उनले बताए ।

लिमिटेडका सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी पर्दा भिजेकोले कारण कुहिएको बताए ।

काठमाडौँ–केरूङ हुँदै तिब्बति मार्गबाट हिल्सासम्म चार हजार क्वीन्टल खाद्यान्न ढुवानी भएको थियो । त्यसमा एक हजार क्वीन्टल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो । त्यसमध्ये १७० क्वीन्टल खाद्यन्न लिमीमा पठाइएको थियो । लिमी पुगेको चामल पनि दुई बोरा कुहिएको भेटिएको छ ।

सिमकोट पुगेको चामल पनि चौध बोरा कुहिएको भेटिएकाले छुट्टै राख्ने व्यवस्था लिमिटेडले गरेको छ । उनले कुहिएको खाद्यन्न फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने बताए । खाद्यले चामल कुहिएको भए पैसा फिर्ता दिने बताएको छ । कुहिएको खाद्यन्न भने राम्रोसँग राख्न उनले आग्रहसमेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments