इजरायलबाट १० नेपालीको शव नेपाल ल्याउने पहल सुरु

काठमाडौँ:तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।

घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

“हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाल फर्कन इच्छुकहरुको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनका लागि अनलाइन रजिष्ट्रेसन सुरु भई दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ । राजदूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवं सतर्क भई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?