पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित

वेदकोट (कञ्चनपुर): कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन्। पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन्।

सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताइन्। ‘सात/आठ कट्ठा खेतको काटेको धान भिजाएको छ। एक्कासि पानी आउँदा खेती भित्र्याउनै पाएनौँ’, उनले भनिन्, ‘भिजेको धान खेतमै छ, घाम पनि लागेको छैन।’

गाउँमै अढाई बिघा जमिन अधियाँमा लिएर उनले खेती गर्दै आएकी छन्। अधियाँको जमिनमा उब्जाएको खेतीले वर्षभरि खाने चौधरी पाकेको धान खेतमै भिजेपछि चिन्तित छिन्। ‘थोरै धान कुन्युँ बनाएर राखेका थियौँ, त्रिपालले छोपेर त्यो धान जोगिएको छ’, उनले भनिन्, ‘अधियाँ बनाएर खानुपर्छ, वर्षाले पाकेको धान खेतमै भिजाएपछि समस्या थपिएको छ।’

काटेको धान खेतमै भिजेको बताउँदै उनले अझै वर्षा भए धानबालीमा बढी क्षति पुग्ने बताइन्। गाउँमा ठाउँठाउँमा वर्षाले धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले बताए। ‘धेरैले धान भित्र्याउन सकेका छैनन्, काटेर धान चुट्नमा किसान व्यस्त छन्’, उनले भने, ‘यस्तो समयमा भएको वर्षाले किसानलाई दुःखित बनाएको छ।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले ठाउँठाउँमा वर्षाको कारण पाकेको धान भिजेको बताएभीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनट्ठ, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भने पानी पर्ने सम्भावना कायमै रहेकाले किसानलाई धान नकाट्न आग्रह गरेको छ। नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सोही कारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?