किसानलाई चाडपर्व र बाली थन्क्याउने चटारो सँगसँगै

महोत्तरी:मध्य कात्तिक कटेसँगै महोत्तरीका किसानलाई चटारो बढेको छ । खेतमा धान पाकेर खेत पहेँलपुर छ । आलु, कोभी, भाण्टासहितका हिउँदे तरकारी, गहुँ, दलहन र उखु लगाउने बेला । यसैबेला मुख्य चाडपर्व तिहार र छठको रमझम छ । यहाँका किसानलाई अहिले राष्ट्रिय महत्वका पारम्परिक चाडपर्वसँगै धान थन्क्याउने र हिउँदे बाली लगाउने चटारो सँगसँगै परेको छ ।

जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा अलि ढिलो पाक्ने धान लगाउने गरिन्छ । तर उत्तरी क्षेत्रमा हिउँदे बाली लगाउन पछि खेतबारी रुखिने हुँदा चाँडै (कात्तिकमा) पाक्ने धान लगाइने गरिन्छ । यसपालि कात्तिक दोस्रो साताभित्र दसैँ सकेका किसानलाई अन्तिम सातामा दिवाली र त्यसलगत्तै छठले छोप्दैछ । यसैबेला मुख्यबाली (धान काट्ने, दाइँ गर्ने र थन्क्याउनु छ । हिउँदे आलु, कोभी र भाण्टासहितका तरकारी बाली लगाउन बेला बित्दैछ । धान काट्नासाथ गहुँ, दलहन (चना, मुसुरो, रहरिया, केराउ), तेलहन–तोरी, सस्र्यू, (आलस) मसला (धनियाँ) र उखु रोपिनु छ । चाडवाडको रमझम र खेतीपातीको चटारो सँगसँगै पर्दा आपूmहरूलाई अहिले भ्याइनभ्याई परेको किसान बताउँछन् ।

“मुखमा चाडवाड छन्, खेतमा वर्ष दिन खाने अन्न (धान) पहेँलपुर भएर पाकेको छ, राम्ररी सास फेर्ने फुर्सद छैन”, भङ्गाहा–५ कर्पुरगन्जका रामजुलुम सर्दार भन्छन्, “सबैलाई पर्व लागेको हुँदा जनमजदुर (कृषि कार्यका श्रमिक) पनि पाइँदैनन्, घरका केटाकेटी चाडवाडकै रमाइलोमा छन्, अहिले धपेडी छ ।” तिहार र छठजस्ता मुख्य पर्वको मुखमा यहाँका किसानलाई धान काट्ने, झाँट्ने र थन्क्याउनेसँगै तोरी छर्ने बारीको खनजोत गर्न पनि भ्याइनभ्याई परेको सर्दार बताउँछन् ।

अहिले कतिले धान काटेर खेतमै सुकाएका छन् । कति खलोमा धान चुट्दैछन् । यता घरमा लिपपोत र सिङ्गारपटारको चटारो छ । खुसी र उज्यालोको पर्व दिवाली आ–आफ्ना सावगासअनुसार सबैले मन फुकाएर मनाउने परम्परा छ । गृहस्थ जीवन यी सबैको चाँजोपाँजोको जोड रहेको भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतर बताउँछन् ।

जिल्लाको उत्तरी क्षेत्रमा अहिले हिउँदे बाली लगाउने ठीक बेला परेको छ । कात्तिक अन्तिम साताको प्रारम्भमा रोपिने उखु, त्यसै बेला छरिने गहुँ र त्यसअघि दलहन चना, मुसुरो र केराउसहितका फसल कात्तिकमै लगाइसक्नुपर्ने हुँदा अहिले खेतबारी जोतखन गर्ने बेला छ । त्यसैगरी कतिपय किसान दिवाली र छठलक्षित आम्दानी लिन उखु पेलेर सख्खर बनाउन थालेका छन् । यसैबेला पुस–माघमा उत्पादन लिइने आलु, कोभी, भाण्टासहितका तरकारी बाली लगाउन पनि बेला भड्किदो छ ।

पछिल्ला दुई–तीन दशकयता कृषि श्रमिक रोजगारीका लागि भारतको पञ्जाव र हरियाणा जाने क्रम बढेसँगै यहाँको खेतीपाती निकै अप्ठ्यारो बन्दै गएको किसान बताउँछन् । “अब जनमजदुर छैनन्, सबै मुग्लान (भारत) जान्छन्, खेतीपाती धान्न सकस छ”, गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मी महतो भन्छन्, “अब घरमा खेतीपातीका काम गर्नसक्ने परिवारजन हुनेले मात्र खेती धान्न सक्छन् ।”

स्थायी सिँचाइको प्रबन्ध नहुँदा जिल्लाका ९० प्रतिशत खेतीयोग्य जग्गा आकाशे पानीको भरमा छ । यो समस्यासँगै बीउ, मलखाद र खेतीका बेला सुलभ ऋणसम्म पनि नपाउँदा किसान अब खेतीबाट विरक्तिँदै गएका छन् । तीन तहका सरकार भए पनि किसानका समस्या ज्यूँका त्यूँ छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?