गहुँको उत्पादन बढाउन किसानलाई तालिम

दोधारा चाँदनी: कञ्चनपुरको बेदकोट नगरपालिकाले गहुँको उत्पादन बढाउन किसानका लागि तालिम सञ्चालन गरेको छ । बेदकोट नगरपालिका र वैजनाथ महिला बहुद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा दुईदिने गहुँबाली उत्पादन तालिम सञ्चालन गरिएको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख देवराज बडुले गहुँ पकेट कार्यक्रम निरन्तरताअन्तर्गत गहुँको उत्पादकत्व वृद्धि गर्न किसानलाई तालिमको आयोजना गरिएको बताए । “हामीले सात दिनको सूचना निकालेर नगरका २४ किसानलाई २० हेक्टर जमिनमा गहुँ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने अभियानअन्तर्गत सम्झौता गरेका छौँ”, उनले भने, “विशेष गरेर गहुँको उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरिएको हो ।”

बडुले तालिममा विषादी प्रयोग र झारपात व्यवस्थापनलगायत विषयमा किसानलाई जानकारी गराइएको बताए । गहुँ उत्पादन गर्न नगरपालिकाले कृषि औजार सहयोग गर्ने र उत्कृष्ट किसानलाई नगदसहित सम्मान गर्ने उनले जानकारी दिए ।

नगरका २४ किसानलाई गहुँबालीको उत्पादन बढाउन र बालीको हेरचाह कसरी गर्नेलगायतका विषयमा तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिए । “गहुँको उत्पादनमा वृद्धि र प्राविधिक विषयमा किसानलाई जानकारी दिन तालिमको आयोजना गरिएको हो”, उनले भने, “तालिमपश्चात् किसानले गहुँ उत्पादनमा वृद्धि गर्ने अपेक्षा गरेका छौँ ।”

तालिममा सहभागी तारा डगौराले पालिकाले सिकाएको कुराको सदुपयोग गर्ने बताए । “तालिममा सिकेका कुरालाई परिवारका अन्य सदस्यलाई पनि सिकाउँछौँ र आफ्नो जमिनमा गहुँको उत्पादन बढाउन लाग्छौँ”, उनले भने, “तालिममा नयाँ प्रविधिबारे जानकारी पाउँदा काम गर्न सहज हुनेछ ।” बेदकोट नगरपालिकाले १० वटै वडालाई पकेट क्षेत्र निर्धारण गरेर कृषिलाई प्राथमिकतामा राखेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?