अनुदानको गहुँको बिउ नउम्रिएपछि १ सय १० बिघा खेत बाँझै

गहुँको बिउ

सिरहा :धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बिउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ । यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बिउ भनेर ४५ रुपैयाँ प्रतिकिलोमा ४० किलो गहुँको बिउ ल्याएर आठ कट्ठा खेतमा छर्नुभयो । छ दिनमा बिउ उम्रिएर नौ दिनमा दुई पात हुनुपर्ने गहुँ १५ दिन बित्दा पनि उम्रिएन ।

‘मलखाद्य, ट्र्याक्टरको जोताइ, ज्याला सबै खेर गयो, खेत बाँझै रह्यो, मेरो त बिल्लीबाठै भयो हजुर, कसरी जहान, बालबच्चा पाल्ने ?’, यादवले भन्नुभयो, ‘हामी माटोमा परिश्रम गर्ने किसानमाथि यस्तो अन्याय गर्न हुन्छ र ? कस्ले दिने क्षतिपूर्ति ? हाम्रो आवाज कसले सुन्छ ?’ 

त्यही वडाकी देवकुमारी यादवको पनि पीडा उस्तै छ । ‘भएको खेत पनि बाँझै रह्यो, धेरै फल्छ भनेर उन्नत बिउ सम्झेर ल्याएको, गहुँको बिउ नगरपालिकाले दियो तर नक्कली र पुरानो बिउ बाँडेछ, एउटा गेडो पनि उम्रिएन’, उहाँले भन्नुभयो, ‘नगरपालिकाले हामीलाई क्षतिपूर्ति दिनुपर्छ ।’

नगरपालिकाले किसानका लागि दुई पटक गरी अनुदानमा गहुँको बिउ वितरण गरेको थियो । अघिल्लो पटकमा साल्टट्रेनिङ कार्यालय लहानबाट बिउ खरिद गरी किसानलाई वितरण गरिएको थियो । बिउमा कुनै समस्या नभएको किसानले बताएका छन् । बिउको माग बढेपछि नगरपालिकाले नै सुनसरीको देवानगञ्जमा रहेकाे कुशवाहा बीज भण्डारबाट दोस्रो पटक गहुँको बिउ खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । 

आदित्य जातको एक सय १० क्विन्टल गहुँको प्रतिकिलो ४५ रुपैयाँमा किसानलाई वितरण गरिएको थियो ।  बिउ लैजाने करिब पाँच सय ५० किसानको गहुँको बिउ नउम्रेपछि खेत बाँझै भएको हो । गहुँ नउम्रेपछि किसानको ट्र्याक्टर जोताइ खर्च, डीएपी मल र पोटास छरेको खर्च, ड्याङ बनाउन लागेको मजदुर खर्च र बिउ किनेको खर्च पनि डुबेको छ । 

अब दोहोर्याएर छर्न पनि गहुँको समय ढिलो भइसकेको छ । ढिलोगरी छरेको गहुँ मौसम नमिलेर नफल्ने र फागुन, चैतको पश्चिमी तातो वायुले गहुँको बाला नै सुकाइदिने किसानको भनाइ छ । पाँच सय ५० किसानको करिब एक सय १० बिघा जग्गा बाँझो रहँदा गहुँको उत्पादन न्यूनतम पनि दुई हजार दुई सय क्विन्टल नोक्सानी हुनेछ ।

कतिपय किसान दोहोर्याएर नयाँ बिउ खरिद गरी छर्ने तयारीमा छन् भने धेरैको खेत बाँझै हुने भएको छ । ‘खेती गर्दागर्दै कपाल सेतै भयो, तर यस्तो हत्ते कहिले आइलागेको थिएन’, ५७ वर्षीय किसान रासोभित यादवले भन्नुभयो, ‘सँगै छरेको जाै उम्रियो तर, गहुँ उम्रिएन, फेरि गाउँमै ६० रुपैयाँ किलोका दरले अर्को बिउ किनी दोहोरो खर्च लगाएर छरेको छु, तर ढिलो लगाएको खेती उब्जनी होला भन्ने आशा कमै छ ।’ 

साल्टट्रेडिङको बिउ राम्रो भए तापनि पछिल्लो पटक सुनसरीबाट ल्याइएको बिउमा समस्या देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवान बताउनुहुन्छ । ‘साल्टट्रेडिङको बिउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको छ, गहुँको बिउ माग्ने किसानको चाप बढेपछि पुनः ११ लाख रुपैयाँ बराबरको एक सय १० क्विन्टल गहुँको बिउ मगाइयो, तर पछिल्लो पटक आएको बिउमा धेरै गुनासाे आयो, दैनिक दर्जनौँ किसान कृषि शाखा घेराउ गर्न आउँछन्, गहुँको बिउ उम्रिएन, क्षतिपूर्ति देउ भन्छन्, हामीले के गर्नु के नगर्नु ?, अप्ठ्यारोमा परेका छौँ’, पासवानले भन्नुभयो । 

नगरका मेयर शिवशङ्कर महतो भने बाहिर हल्ला गरिएजस्तो अवस्था नरहेको बताउनुहुन्छ । गहुँको बिउ नक्कली भएको भन्ने आशङ्का नगर्नसमेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर बिउ खरिद गरिएको हो, दुई चार जना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको होला ।’

खेत बाँझै हुने किसानको क्षतिपूर्ति सम्बन्धमा मेयर महतोले क्षतिपूर्ति दिनै परे बिउको पैसा मिनाहा गरिदिने बताउनुभयो । उहाँले आफू काम विशेषले काठमाण्डाै भएको र केही दिनमा फर्केपछि यस सम्बन्धमा थप अध्ययन गर्ने जानकारी दिनुभयो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?