गाईभैँसीलाई एक हजार सुत्केरी भत्ता

सिन्धुलीमाढी, सिन्धुलीको कमलामाई नगरपालिकाले सुत्केरी पशुलाई भत्ता दिन शुरु गरेको छ । नगरपालिका कार्यालयका अनुसार कृषकलाई पशुपालन व्यवसायप्रति आकर्षित गर्ने उद्देश्यले नगर क्षेत्रभित्रका कृषकले पालेको गाईभैँसी ब्याउँदा सुत्केरी खाद्यान्न सहयोगका लागि एक पटक नगद एक हजार रुपियाँ भत्ता उपलब्ध गराउन शुरु गरिएको हो ।
सुत्केरी गाईभैँसीलाई भत्ता दिन कृषकबाट निवेदन सङ्कलन गर्न शुरु गरिएको नगरपालिकाका पशु चिकित्सक हरिहर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, कृषकलाई सुत्केरी पशुको भत्ता दिन मङ्सिर १ गतेदेखि नै निवेदन सङ्कलन शुरु गरिएको छ । अहिलेसम्म २८ जना कृषकले भत्ताको दाबी गर्दै निवेदन दर्ता गराएका छन् ।
निवेदनका आधारमा प्रत्येक दुई महिनामा बैङ्कबाट रकम झिकी कृषकलाई बोलाएर उक्त भत्ता उपलब्ध गराइनेछ । यो अभियान असारमसान्तसम्म लागू गरिने चिकित्सक लामिछानेको भनाइ छ । उहाँका अनुसार कृषकले पशुको सुत्केरी भत्ता लिन ब्याएको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाईभैँसीको बच्चासहित देखिने फोटा र नागरिकताको प्रतिलिपिसहितको निवेदन नगरपालिकामा दर्ता गर्नुपर्ने हुन्छ ।
यसरी उपलब्ध गराएको भत्ताबाट सम्बन्धित कृषकले ब्याएको पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउनु पर्नेछ । कार्यपालिकाको बैठकबाट निर्णय गराई पशुलाई सुत्केरी भत्ता दिन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिका ४ ढकालगाउँ निवासी कृषक कृष्णप्रसाद भट्टराईले मङ्सिर १७ गते आफ्नो गाई ब्याएको र उक्त पशुको सुत्केरी भत्ता लिन नगरपालिकामा निवेदन दर्ता गराएको जानकारी दिनुभयो । दुई महिनापछि पशुको सुत्केरी भत्ता लिन नगरपालिकाले बोलाएको उहाँको भनाइ छ ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?