धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

गण्डकी, ३ जेठ : धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले, झिनुवाजस्ता प्रजाति लोप हुँदै गएका छन् । औषधीय गुण भएका रैथाने प्रजातिका धान हराउँदै जाने र बढी उत्पादन हुने नाममा वर्णशङ्कर जातका धान रोप्नेक्रमसँगै नयाँपुस्ताका लागि रैथाने जात एकादेशको कथा जस्तै हुने चिन्ता छ ।

पोखरा र आसपासमा करिब तीन दशकयता रैथाने जात हराउँदै गइरहेको वास्तविकतामा पोखरा महानगरपालिकाले यिनको संरक्षणसँगै स्थानीयवासीमा पनि सचेतना बढाउने गरी तयारी थालेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो । महानगरपालिकाले स्थानीय जातको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष नौ हजार किलो पोखरोली जेठो बुढो, पहेँले, रामधान, खुमल १०, कालो झिनुवा, एक्ले, रातो अनदी, बयर्नी जातका धानको बीउ वितरण गरेको उहाँले बताउनुुभयो ।

प्रमुख कडरियाका अनुसार महानगरपालिकाले पोखरोली जेठो बुढोको बीउ आठ हजार किलोग्राम ५० प्रतिशत अनुदानमा वितरण गरेको छ भने अन्य रैथाने जातका धानको बीउ निःशुल्करुपमा वितरण गरेको हो । रैथाने जातको संरक्षणमा सचेतना जगाउने उद्देश्यका साथ ती धानको बीउ निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।

पछिल्ला वर्षमा पोखरेली जेठो बुढोको बीउको संरक्षणमा कृषकले पनि सक्रियता देखाउँदै आएका छन् । विसं २०६८ देखि लेखनाथ क्षेत्रमा पोखरोली जेठोबुढो धानको बीउ उत्पादन गर्दै आएको लक्ष्मी सिड सेन्टरले यस वर्ष १४ टन बीउ उत्पादन गरी वितरण गरिरहेको उक्त कम्पनीका सञ्चालक कृष्ण तिवारीले जानकारी दिनुुभयो ।

कृषि ज्ञान केन्द्रबाट मूल बीउ ल्याएर उत्पादन गरी त्यसलाई उत्पादन गरी बीउबिजन प्रयोगशालाबाट अनुसन्धान प्रमाणित गरेर मात्रै त्यसलाई बजारमा पठाउने गरिएको उहाँले ताउनुुभयो । सञ्चालक तिवारीका अनुसार लक्ष्मी सिड सेन्टरले २० टनभन्दा बढी आलुको बीउ पनि उत्पादन गरेको छ । यस वर्ष बोडीको बीउ उत्पादन गर्न लागिएको छ । स्थानीय जातको संरक्षणलाई लक्षित गरी पहेँले धानको बीउ पनि उत्पादन गर्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुुभयो ।
पोखरामा धानलगायतका विभिन्न रैथाने प्रजातिको संरक्षणमा जैविक स्रोत संरक्षण अभियान संस्था निरन्तर लागिरेको छ । रैथाने जातका धान तथा बाली विस्तारै लोपोन्मुख बन्न थालेपछि यहाँको सुन्दरीडाँडामा जैविक विविधता कृषि सूचना केन्द्र स्थापना गरी त्यहाँबाट पनि संरक्षणको पहल भइरहेको संस्थाका सचिव पुुष्प सुुवेदीले जानकारी दिनुुभयो । केन्द्रबाट धान बालीका साथै, कोदो, तरकारीलगायतका कृषिजन्य उत्पादनका परम्परागत प्रजातिको बीउ संरक्षण गर्ने गरेको उहाँले जानकारी दिनुुभयो ।

“हामीले ५३ जातका धान, १६ जातका कोदो, नौ जातको पिँडालुु, मास, भटमास आदिका बीउको संरक्षण गरिरहेका छौँ”, सचिव सुुवेदीले भन्नुुभयो, “यसै संस्थाको प्रयासबाट रातो अनदी, पहेँले, एक्ले, बयर्नी र कालो झिनुुवा जातका धानका बीउ नेपाल सरकारबाट सूचीकृत भइसकेका छन् ।”

उपत्यका, तालतलैया र सिमसार क्षेत्रजस्ता विविधतायुक्त भूबनोट पाइने कास्कीमा ५० भन्दाबढी जातका स्थानीय धान लगाउने गरिए पनि विस्तारै पर्याप्त उत्पादनका लागि कृषक बर्णशङ्कर जातका धानतर्फ आकर्षित बन्दा रैथाने प्रजाति लोप भइरहेको स्थानीय बुढापाकाको भनाइ छ ।

पछिल्लो समयमा रासायनिक मलको बढ्दो प्रयोगसँगै रैथाने धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको पटनेरीका कृषक विष्णुुबहादुर नेपाली बताउनुुहुन्छ । आजभन्दा १०÷१५ वर्षअघिसम्म पटनेरी फाँटमा झुल्ने पहेँले धान खेतमा नै हरहर बास्ना आउने गरेको अनुुभव सुनाउँदै उहाँले अहिले भान्छामा पनि बास्ना आउन छोडेको बताउनुुभयो । पछिल्लो समयमा बढ्दो रासायनिक मलको प्रयोगका साथै उत्पादन बढाउने बर्णशङ्कर जातका धानको बीउ बढी प्रयोग हुन थालेको उहाँले बताउनुभयो ।

कास्कीका ताल तलैयाको छेउछेउमा विगतमा पाइने गरेका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी, फल्याङकोटे धान लोप नै भइसकेका छन् । समुद्री सतहबाट करिब तीन सय मिटरदेखि ६ सय मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, वीरम्फूल, आँगा, रमनी, रुदुवा मार्सीजस्ता धान देखिन छाडेको छ ।

नयाँ जातका धानको आगमनसँगै परम्परागतरुपमा रोपिने पोखरेली मसिनो (पहेँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेको कृषक बताउँछन् ।

कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफूल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँलेजस्ता धान धेरैमात्रामा रोप्ने गरिएको छ । पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको सिशुवा, पटनेरीलगायतका स्थानमा बढ्दो प्लटिङका कारण धानखेतीमा कमी आउन थालेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?