अज्ञात रोगका कारण धमाधम मौरी मर्न थालेपछि रित्तिँदै घार,मारमा किसान 

गलकोट (बागलुङ), १३ जेठ : मौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका जैमिनी नगरपालिका–१० व्याडथलाका किसान याम थापा अहिले चिन्तित हुनुहुन्छ । २०७४ सालदेखि मौरीपालन गर्दै आउनुभएका उहाँको मौरीका घार रित्तिन थालेपछि व्यवसाय सङ्कटमा परेको छ ।

थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्नथालेपछि अहिले घार नै रित्तिन लागेको हो । उहाँ केही वर्ष यता बङ्गुरपालन छोडेर मौरीपालनमा लाग्नुभएको थियो । केही महिनायता मात्र ४० घार मौरी मरेपछि व्यवसाय सङ्कटमा परेको उहाँले बताउनुभयो । छ वर्षदेखि मौरीपालन गर्दै आउनुभएका थापाले मौरीपालनबाट वार्षिक रु तीन लाखसम्म आम्दानी गर्नुभएको थियो । सेरेना जातको मौरी पाल्दै आउनुभएका उहाँले एक किलो मह रु एक हजार पाँच सयमा घरबाटै बिक्री गर्दै आउनुभएको थियो ।

“किसानको मर्का राज्यले बुझ्दैन, पहिला बङ्गुरपालन गरेको खोर त्यसै छन्, बङ्गुरपालन व्यवसाय घाटामा गएपछि मौरीपालनमा लागेको थिएँ, मौरीपालनमा निकै राम्रो आम्दानी भएको थियो तर मौरी मर्नथालेपछि घार रित्तै भयो”, उहाँले भन्नुभयो, “४२ घार मौरी मासिएर दुई घारमा सीमित छ, अहिले फेरि छ थान मौरीसहितको घार किनेको छु ।” थापाले मौरीपालनसँगै चार वटा मुर्रा जातको भैँसीसमेत पाल्दै आउनुभएको छ । मौरीको बीमा नगर्दा घाटा परेको उहाँले स्वीकार्नुभयो । उहाँले राज्यले दिने अनुदान र सहुलियत झन्झटिलो भएको गुनासो गर्नुभयो । मौरी मर्नुको कारण थाहा नभएको उहाँको भनाइ छ ।

पछिल्लो समय बागलुङमा मौरीपालन व्यावसायिक बन्दै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । कृषि ज्ञान केन्द्र बागलुङका कृषि अधिकृत जमुना भण्डारीले मौरीपालन बढेपछि मौरीको बीमा कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले कतिपय किसानले बीमा नवीकरण नगर्दा समस्या भएको बताउनुभयो । वातावरणीय प्रभाव, उपयुक्तखानाको अभाव, समयमै वर्षा नहुँदा विषादी रस, कमजोर गोला र पक्षघातका कारण मौरी मर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?