‘नियमअनुसार पशुपन्छी ढुवानी गर्नुपर्नेमा जोड’

नारायणगढ (चितवन): पशुपन्छीको ढुवानी गर्दा नियम तथा कानुनको पालना गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

पशुपन्छी अधिकारका क्षेत्रमा काम गरिरहेको एनिमल नेपाल फिल्ड कार्यालय चितवनका प्रमुख रामचन्द्र आचार्यले पशु सेवा ऐन, २०५५ तथा नियमावली २०५६ एवं पशु ढुवानी मापदण्ड २०६४ अनुसारका नियम ढुवानीकर्ताले पालना नगरेका बताउनुभयो । उहाँले नियमअनुसार हरेक पशुपन्छी ढुवानी गर्ने गाडीमा प्राथामिक उपचार बाकस हुनुपर्नेमा त्यसको पालना नगरी क्रुर तरिकाले पशुपन्छी ढुवानी भइरहेका बताउनुभयो ।

यसैगरी शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्न नहुने नियम तथा कानुन रहे पनि धेरैजसो गाडीले सबैलाई एकै गाडीमा खाँदेर ढुवानी भइरहेका छन् । आचार्यले गाडीमा ढुवानी हुने राँगा, भैँसी, बोका, खसीलगायतको टाउको र मुख चालक अगाडि फर्केको हुनुपर्ने नियमको पनि उल्लंघन गरेर ढुवानीकर्ताले न्यूनतम मनवीयतासमेत नदेखाउने गरेकामा आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, “जसरी हुन्छ धेरै पशु एउटै गाडीमा कोचेर ढुवानी गरेको हामीले देखेका छौँ । यो कुरा पशु अधिकारको हनन हो यसबारेमा हामीले बोल्दै आएका छौँ तर सुन्नेले सुन्दैनन् ।”

ठूला पशुलाई ढुवानी गर्दा प्रति पशु ० दशमलव ८४ देखि १ दशमलव २७ वर्गमिटर स्थान उपलब्ध गराउनुपर्ने नियम भएको र एउटा ठूलो ट्रकमा २० वटा मात्र राँगा भैँसी ढुवानी गर्न सकिने भए पनि नियममा मात्र सीमित रहेको जानकारहरुको भनाइ छ ।

एनिमल नेपालकी फिल्ड निरीक्षक दीपा केसीले पशुपन्छी ढुवानी गर्दा सरकारले बनाएको कानुन तथा नीति कडाइका साथ लागू गर्नुपर्ने बताउनुभयो । उहाँले सकेसम्म जीवित पशुपन्छी ढुवानी गर्न रोक्नुपर्ने भन्दै मासुकै प्रयोजनका लागि ढुवानी गरिएका पशुलाई लामो समय दुःख दिन नहुने तर्क प्रस्तुत गर्नुभयो ।

चितवनको रामनगरमा रहेको पशु क्वारेन्टाइन हुँदै दैनिक ३० वटा ट्रकसम्म पशु ढुवानी हुने भए पनि त्यहाँबाट कागजमात्र हेर्ने काम भइरहेको केसीले बताउनुभयो । पशुलाई ढुवानी गर्नुपूर्वबाट नै पीडा दिन सुरु गर्ने गरेको भन्दै कानुनविपरीत गरिने यो काम तुरुन्त रोक्नुपर्ने उहाँको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?