देशभर मनसुनी वर्षा जारी, राति कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ, श्रावण ०३ :
महाशाखाका अनुसार, आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी तराईका भू-भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
आज राति वर्षाको क्रम अझ बढ्ने देखिन्छ। महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, राति कोशी प्रदेशका धेरैजसो स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी, कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा सतर्कता अपनाउन पनि मौसमविद्हरूले आग्रह गरेका छन्। रातिको समयमा पनि उच्च-पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ।
