आजको मौसम: मनसुन कमजोर रहे पनि कोशी र मधेश प्रदेशमा राति भारी वर्षाको सम्भावना
काठमाडौं, श्रावण ०८ गते बिहीबार :
महाशाखाका अनुसार, आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहनेछ। यी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।
विशेषगरी, रातिको समयमा कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण ती क्षेत्रहरूमा हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
