आज देशभर बदली र वर्षा, कोशी र मधेशसहितका ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, श्रावण १८ ।
महाशाखाले आज दिउँसोको लागि जारी गरेको पूर्वानुमान अनुसार देशभर मौसम सामान्यतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम स्तरको वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
यस्तै, आज राती पनि देशभरको मौसममा बदली कायमै रहनेछ। राती मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका धेरै स्थानहरूमा र बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनेछ। राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ। साथै, भारी वर्षाले सडक तथा हवाई यातायातमा समेत अवरोध ल्याउन सक्ने हुँदा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन र मौसमबारे अद्यावधिक जानकारी लिन पनि आग्रह गरिएको छ।
