मनसुन सक्रिय: लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

चट्याङ

काठमाडौं श्रावण २० ।

देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज दिउँसो र राती विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागमा अवस्थित रहेकाले वर्षाको यो प्रणाली विकसित भएको हो।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभरको मौसम अधिकांश बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, आज राती पनि देशभर मौसम बदली रहनेछ। रातिको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा भू-क्षयको जोखिम, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा समेत प्रभाव पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ। सर्वसाधारणलाई यात्रा गर्दा मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न पनि सुझाइएको छ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?